सोमबारबाट परिरहेको अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित सबस्टेसन डुबानमा परेको छ । प्रदेश नं १ का जिल्लाहरुमा विद्युत आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेसन डुवान परेपछि मंगलबार साँझबाट मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।

प्राधिकरणको वालमा लेखिएको सुचना

सबस्टेसन डुबानमा परेपछि अहिले त्यहाँबाट विद्युत आपूर्ति हुने लाइन काटिएको प्राधिकरणका कार्यकारी कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘बाढी पसेर सबस्टेसन डुबानमा परेपछि त्यहाँबाट विद्युत आपूर्ति गर्ने लाइन काटिएको छ, यसबाट प्रदेश नं १ का जिल्लाहरुमा ब्ल्याक आउट भएको छ,’ उनले भने ।

‘सबस्टेसनको नियन्त्रण कक्ष डुबानमा परेको छ, अहिलेसम्म मुख्य उपकरणमा क्षति नपुगेको जानकारी पाएका छौं, पानी नरोकिएमा उपकरणहरूमा ठूलो क्षति पुग्ने देखिएको छ, यस्तो भएमा त्यस क्षेत्रमा विद्युत आपूर्ति केही दिन बन्द हुनसक्छ, अहिले सबस्टेसनभित्रको पानी हटाएर उपभोक्तालाई जतिसक्दो छिट्टो विद्युत आपूर्ति उपलब्ध गराउन हाम्रो टिम प्रयासरत छ ।’

पमरधिकरणका कर्मचारी को वालबाट

सबस्टेसनको पानी हटाउनका लागि आवश्यक सहयोग गरिदिन स्थानीय सरकार, प्रशासन, नेपाली सेना, नेपाल प्रहरी लगायतलाई आग्रह गरिएको घिसिङले बताए । उनले दुवही सबस्टेसन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको बताए । यसबाट काबेली करिडोरमा जोडिएका करिब १७० मेगावाटका जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन पनि बन्द भएको छ ।