• भदौ २०, २०७७
  • Madan Rajbanshi
  • 0

झापा , भदौ २० । झापाको शिवसताक्षी नगरपालिका ११ का २८ वर्षीय गोमनसिंह मगरको घाँटी रेटेर हत्या गरेको आरोपमा झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

हत्या आरोपि


पक्राउ पर्नेमा स्थानीय मनकुमार लिम्बु छन् । शिवसताक्षी जाने सडक किनार नजिकैको जंगलमा मगरको बीभत्स हत्या भएको थियो । हत्या गरी उनको शव फालिएको थियो । मगरको घाँटी र गर्धनमा धेरै पटक धारिलो हतियारले काटिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । प्रहरीले तीन दिनपछि हत्यारा पत्ता लगाउन सफल भएको हो । तीन दिनअघि शिवसताक्षी नगरपालिका ११ मैनाचुलीका मगरको हत्या भएको हो । उनको शव सतासीधाम जाने बाटोमा भेटिएको थियो । मगर गत मंगलबारदेखि बेपता थिए ।
बुधबार रतुवामाई वृक्षारोपणका वन रक्षकले शव देखेर प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । मगरको घाँटी तथा शरीरको विभिन्न भागमा चोट रहेको छ । मंगलबार साँझ फोन गरेर भेट्न बोलाएर लिम्बुले गोमानसिंहको हत्या गरेको खुलेको हो । प्रहरीका अनुसार मगर गत माघ महिनामा बहराइनबाट नेपाल फर्केका थिए । आरोपी लिम्बु पनि बहराइनबाट फर्किएका व्यक्ति हुन् । दुई जनाबीच लेनदेनको विवाद हत्यासम्म पुगेको देखिएको प्रहरी स्रोतले बतायो ।

तस्बिर – प्रदेश प्रहरी


यसरी भएको थियो हत्या
मनकुमार बोखिम ( लिम्बू ) र गोमनसिंह मगर मिल्ने साथी हुन् । उनीहरूको घर एउटै नगरपालिका हो । तर,चिनजान बहराइनमा भएको थियो । उसैबेलादेखि उनीहरूका बीच लेनदेन थियो । मंगलबार हत्या भएका मगरको मृत्युको कारण सोही लेनदेन बन्यो ।
झापा शिवसताक्षी नगरपालिका ८ थेचम्बुका करिब ३१ वर्षीय मनकुमारले नयाँ मोबाइल नम्बरबाट मंगलबार साँझ ६ बजे साथीलाई फोन गरे । मिल्ने साथीले फोन गरेपछि शिवसताक्षी ११ मैनाचुली २९ वर्षीय गोमनसिंह केही नसोची हिडिहाले । उनीहरूको घरको दुरी सात र आठ मिटरको दुरीमा छ । बोखिमले मगरलाई झिलझिले बजार बोलाएका थिए । मगर प्रदेश ०१–०१–०१२ प ५२२५ नम्बरको रातो रङको पल्सर मोटरसाइकल लिएर घरबाट निस्किएको केही मिनेटमै भेट भयो । सामान्य कुराकानी भयो । अनि उनीहरु सोही मोटरसाइकलमा राजमार्ग उत्तर तर्फ मोडिए । सतासीधाम जाने कच्ची सडक । एककिलो मिटर उत्तर पुगेपछि जंगल बीचको बाटो नजिकमा नै बोखिमले मगरको घाँटीमा छुरा प्रहार गरे । विवाद भएपछि बोखिमले मगरको घाँटी रेटेका थिए । त्यो रात त्यसै बित्यो । बुधबार बिहान १० बजेतिर रतुवामाई वृक्षरोपण आयोजनाका वन रुघालुले मगरलाई मृत अवस्थामा देखेर प्रहरीलाई खबर गरे ।
प्रहरीले अनुसन्धान सुरु ग¥यो । प्रहरीले तीन दिन लगाएर गरेको अनुसन्धानपछि बोखिम एक्लैले साथीको हत्या गरेको खुलेको हो। उनले प्रहरीसामु हत्या स्वीकारसमेत गरेको झापा प्रहरीले जनाएको छ।
बिहीबार बोखिमले मगरको हत्या आफैंले गरेको स्वीकार गरेका थिए। उनलाई तीन दिनदेखि प्रहरीले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेको थियो।
अनुसन्धानका क्रममा मृतक र लिम्बूले प्रयोग गरेको गरी दुई वटा मोबाइल र हत्यामा प्रयोग भएको छुरा पानीमा फ्याँकेको अवस्थामा शुक्रबार दिउँसो भेटिएको हो । बरामद मोबाइल र लिम्बूले प्रयोग गरेको हतियार फालेको स्थानबाटै छुरा फेला परेको आधारसहितका अन्य गतिला प्रमाणले घटनामा लिम्बूको संलग्नता पुष्टि भएको झापाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए । मगरको शव भेटिएलगत्तै प्रहरीले अनुसन्धानका लागि प्रदेश नम्बर १ प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाएको थियो । जसले आरोपी राजमार्गतिर भागेको संकेत गरेको थियो । मगरको शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
घटनाको अनुसन्धान इलाका प्रहरी कार्यालय झिलझिले, इलाका प्रहरी कार्यालय दमक, जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश प्रहरी इकाई कार्यालय विराटनगरले गरेको हो ।प्रारम्भिक अनुसन्धानमा अपराधमा अन्य व्यक्ति पनि संलग्न हुनसक्ने आशंका गरिए पनि अनुसन्धानले पुष्टि नगरेको स्रोतले बताएको छ । साथीको हत्या उनले मोटरसाइकलमै घाँटी रेटेर गरेको र मोटरसाइकल घिसारेर घारी तिर फालिदिएको प्रहरीले जनाएको छ । मंगलबार साँझ घरबाट निस्किएका उनी राति अबेरसम्म पनि घर नर्फकिएपछि मगरका आफन्त र छिमेकीले खोजी सुरु गरेका थिए । परिवारका सदस्यले पौने ९ बजे फोन सम्पर्कको प्रयास गर्दा उनले प्रयोग गर्ने मोबाइलको स्वीच अफ थियो । अरुबेला साँझ वा राति उनी एक्लै घर बाहिर निस्कीने गरेका थिएनन् ।मगर गत माघमा बहराइनबाट नेपाल आएका थिए। बोखिम पनि बहराइनबाट फर्किएका व्यक्ति हुन्। मगरले फागुन २ गते बिबाह गरेका थिए ।
श्रोत प्रतिदिन दैनिक