मदन राजवँशी मनप्रीत
मध्य फागुनको एउटा सितल विहानी‚ जव पहिलो पटक मैले उनलाइ देखेको थिएँ । हाइस्कुलको गेटबाट भित्र छिर्नै लाग्दा पहिलो चोटी मेरा आँखा उनि माथि ठोक्किन पुगेको थियो । निलो फ्रक सेतो सर्ट‚ र निलो जम्फर, सरकारी स्कुल ड्रेसमा साच्चै उनि स्मार्ट देखिएकि थिइन् । उनको मुहारमा आहा भन्नै पर्ने खासै केहि थिएन तर उनको आँखामा एक प्रकारको तिक्ष्ण आकर्षण थियो‚ जुन मेरो पहिलो नजरको चोइस वनिसकेको थियो ।
रिजल्ट आइसकेर भरखरै नयाँ सेसन शुरु भएको थियो । स्कुलकै सबै भन्दा ठुलो क्लासमा पुगेका हामी फुर्केर खपिसक्नु थिएन । क्लास सक्किने वितिकै प्रत्येक घण्टीमा हामी बाहिर निस्केर स्कुलै थर्किने गरि हल्ला मच्चाउथ्यौ । छडी बोकेर उदय लाल सर नै आए भने मात्रै हो‚ नत्र त अरु सरहरुपनि हामी देखि आजित भइसकेका थिए ।
कक्षा दसकै जस्ट अपोजिट थियो- कक्षा आठ । घण्टी पिच्छे बाहिर निस्के पछि अनायासै मेरा आँखा आठ क्लासको ढोकामा गएर अडिन्थ्यो । सँभवत: उनि नयाँ थिइन् । त्यसैले प्राय उनि छुट्टी नहुन्जेल सितिमिति क्लास बाहिर देखा पर्दैनथिइन् । कहिलेकाहि टिफिन टाइममा गेट बाहिर चटपटे खान जादा उनको दर्शन हुन्थ्यो । त्यो बेला उनि साथीहरुको हुलमा हुन्थिन् ।
फागुन सकेर चैत लागि सकेको थियो । तातो हावा सँगै धुलाम्मे सडकहरुमा उड्ने धुलोले गौरीगँजको वातावरणलाइ छपक्कै छोप्न थालेको थियो । आगन आगनका फुलवारी उजाडिएका थिए तर आपका रुखहरुमा सानो टिकुली लाग्न थालिसकेको थियो । आपको रुख छेउको सानो इन्द्रकमलको बोटमा कोपिलापनि बस्न थालिसकेको थियो । यता भने म अझ उनको सामु खुल्न सकेकिरहेको थिइन ।
जव म उनको छेउ पुग्थे मुटु जोडतोडले धडकिन थाल्थ्यो मानौ यो मुटु, मुटु होइन कुनै वाउन्सिँग बल हो जो सानो प्रहारले नै छातिवाट फुत्केर कतै भागिजान उद्धत छ ।
शरिरमा एक किसिमको कम्पन छुट्न थाल्थ्यो, वोलि घाटी भित्रै कतै हराउथ्यो । अनि म त्यसै तर्कि दिन्थे — कुनै सुनौलो सपना बाट भरखरै व्युझे जस्तो । सम्भवत: उनले धेरै चोटि मलाइ नोटिस गरि सकेकि थिइन‚ म उनि सँग बोल्न चाहन्छु भनेर । सायद त्यसैले होला जव म उनको छेउ पर्ने कोसिस गर्थे‚ उनि पनि कुनै वहानामा साथीहरुको हुलबाट अलग्गिन्थिन् ।
समयले तीन महिनाको फड्को मार्यो । यस वीच हाइस्कुलको उत्तर गेट छेउको भाटे सिनेमा हलमा फिलिमका थुप्रै पोस्टरहरु फेरिए । गोल्छा मीलको हनुमान मन्दिरको फुलवारीमा कयौ फुलहरु फुलेर ओइलाए । गेउरीयाको पुल मुनी कति पानी बगे बगे ? लेखाजोखा नै रहेन । चैत वित्यो‚ बैशाख वित्यो जेठपनि वितेर गयो । तर अँह ‚ उनिसँग नजिकिने मेरो चाहाना कहिल्यै पुरा भएन ।
अर्धबार्षिक परीक्षा नजिकिदै थियो । परीक्षा लगतै एक महिनाको लामो बर्खे विदा शुरु हुनेवाला थियो । यता मेरो मनको वेचैनि पनि उसै वेगले वढ्दै गईरहेको थियो ।
असाढको पहिलो साता‚ त्यो बुधबारको दिन थियो । गौरीगँजका प्राय सवै विद्यालयहरु बुधबार हाफ छुट्टी हुन्छ । स्कुल छुट्टी हुनु अगावै गौरीगँजको आकास धुम्मियो । कालो बादल चारै तिर डर लाग्दो गरि फिजियो । छुट्टीको घण्टी बजिसक्दा सम्म त बातावरण नै अध्यारो भएर आयो । पानी दर्किनु अगावै हामी हुलका हुल विद्यार्थी कपि किताव छातिमा टाँसेर वेतोडले घर तिर हान्नियौँ । चोक पुग्न नपाउदै बर्षातको पहिलो झरीले हामीलाइ छेकि हाल्यो । हामी दसका एक हुल विद्यार्थी पुर्णेको स्टुडियो भित्र ओत लाग्न छिर्यौँ । त्यहा पहिलादेखि नै अरु विद्यार्थीहरु पनि ओतिएका थिए । त्यहि भिडमा मपनि घुस्रिएँ ।
एकाएक मेरा आखा उनै माथि ठोक्कियो । उनि अर्को पट्टी फर्केर साथीसँग बोल्दै थिइ । मन झसँग भयो । मत उनिसँगै टाँस्सिएर उभिएको रहेछु । छाति भित्र मुटुको वेग एकाएक वढ्यो । शरिरमा फेरी एक प्रकारको कम्पनको तरँग छुट्यो ।
अरुले सुनै सुनको शहरलाइ स्वर्ग देखे होलान तर मत उनको स्पर्षले नै स्वर्गमा पुगे जस्तो भए । जिन्दगीमा कैयो रमाइला क्षणहरु आए गए तर माकसम त्यो क्षण जुस्तो सुखको अनुभुति मैले अरु कहिल्यै गरिन ।
स्टुडियोमा ओत लाग्नेहरुको भिड झनै बढ्दै गयो । हामी झन नजिकियौ । अलि अलि भिजेको उनको कपालको सनसिल्क बासना र उनको शरिरबाट अइरहेको नारी महकको मिश्रित सुगन्धले म मदहोस हुदै गएको थिए ।
मनले चाहयो— समय यहि रोकि जाओस । जिन्दगीको कुनै पल यस्तो हुदो रहेछ जसलाइ अँगालो भरी समेटेर मृत्यु पर्यन्त आफैसँग साँची राख्न मन लाग्दो रहेछ । “हे इश्वर आज दिनभरी रात भरी पानी नथामियोस ।” — अँखा चिम्लेर अनायासै भगवानलाइ सँझिन पुगेछु । तर मानिसका सबै चाह इश्वरले नि कहाँ सुन्छ र ? लगभग आधा घन्टा पछि झरी थामियो । “ओइ हिड् सवि ‚ पानी रोकियो ।”— उनको साथीले भने सँगै उनिहरुको हुल स्टुडियो बाट बाहिरियो । मैले आज पहिलो चोटी थाहा पाए— उनको नाम सवि रहेछ । तर सवि कि सविता ? एउटा कन्फ्युजनले फेरी डेरा जमायो । “सवि”‚ गायत्री मन्त्र झै मैले मनमनै उनको नाम दोहोर्याएँ ।
झरी थामिएपनि बाहिर अलिअलि पानी अझै छिट्याइ रहेको थियो । विस्तारै पुर्णको स्टुडियो खालि हुँदै गयो अरुसँगै हामीपनि निस्कियौ ।
भोली विहान स्कुल लाग्ने बेला फेरी सिमसिम पानी शुरु भयो । अरुले झै मैलेपनि छाता ओढे स्कुल जान । पानी परेको बेला स्कुल जान अरुलाइ पर्खिनु वेकार थियो । यस्तो बेला स्कुल जाने कि नजाने ? कसैको टुँगो हुदैनथ्यो । त्यसैले त्यो दिन म छाता ओढेर एक्लै स्कुल हिडेको थिए ।
वर्षातको बेला गौरीगँजका सडकहरु पुरै हिलाम्मे हुन्थे । बाटोभरी हिलो छिचोल्दै म गेउरिया पुल निर आइ पुगेको थिए । विहानी पख पानीले भिजेर गेउरियाको काठेपुल झन कालो देखिएको थियो । पुल मुनि गेउरियाको धमिलोपानी आफ्नै वेगमा बगिरहेको थियो । पुलको दक्षिण तिर छेउमै थानाको पुरानो बिल्डिँग हलचलनगरि आफ्नो दम्भ देखाइ रहेको थियो— “हेर माओवादीले सवै तिर ध्वस्त बनायो तर मलाइ सकेन ।” तिनताका माओवादी जनयुद्धले विस्तारै गति लिइरहेको अवस्था थियो ।
पुल तर्नै लाग्दा पुल पुर्वको ठुलो बर पिपलको बोट मुनी सवि देखा परिन् । सायद उसको साइकलको चेन खुस्केको हुनु पर्छ‚ उनि अगाडि पट्टी निहुरेर बेतोडले चेन लाउने कोसिस गर्दै थिइ भने देव्रे कुम र गालाको बिचमा निलो रँगको छातालाइ च्यापेर पानीबाट आफुलाइ छल्ने कोसिस पनि गर्दै थिइन् । उनको सर्लक्क परेको १६ वर्षे शरिर सानो लेडिज छाता भित्र के अटाउथ्यो र ? पानीले उसको पछाडिको भाग सवै भिजाइ सकेको थियो । निथ्रुक्कै भिजेको उनको सेतो सर्ट भित्र गुलावि ब्रेसियरका फिताहरु प्रस्टै देखिइरहेका थिए । एक पटक त झरी सँगपनि पुरै डाहा चलेर आयो ।
त्यसो त उनले मलाइ देखि सकेकि थिइनन् तर त्यहा देखि बाटो काटेर अघि बढ्न मनले पनि मानेन । “के भो सवि ?” — अनायासै ओठबाट फुस्कियो । कहिल्यै चिनापर्ची नगरेको , कहिल्यै नबोलेको मान्छेलाइ नामै किटेर बोलाउने हिम्मत मलाइ कुन तत्वले दियो‚ आफैलाइ थाहा भएन ।
उनले पछाडि फर्केर हेरि । उनको अनुहारमा दिग्दारीका रेखाहरु प्रस्टै देख्न सकिन्थ्यो । “हेरन चेनै खुस्कियो । कत्ति गरिसके‚ लाग्दै लाग्दैन ।”
उनले सहयोगको याचना गरि । उनको छेउका उभिन त उभिएँ‚ तर उहि पहिलाको जस्तो कम्पन फेरि छुट्न थाल्यो शरिरमा । फेरि मुटु जोडतोडले धडकिन थाल्यो । “खै छोड त, म लाइ दिन्छु ।” — मुस्किलैले यति बोलि फुट्यो मुखबाट । त्योपनि कामेको स्वरमा ।
उनि पछाडि हटिन् । उनका दुवै गहुँगोरा चिल्ला हातहरुमा चेनको कालो लथपतिएको थियो । उनको साइकलको चेन लाइदिन त बसे तर हातले काम गरे पो ! मुटुको बेग सँगै मेरा दुवै हात थरथराइ रहेका थिए । कोहि मान्छे नजिक हुँदा किन यति मिठो कम्पन छुटेको ? मनमा किन यति धेरै बेहोसी छाउँदैछ आज ? आफ्नै मुटुको वेग आज आफ्नो वसमा थिएन ।
दस मिनेट जतिको प्रयास पछि बल्ल पछाडिको पाँग्रामा चेन लाग्यो । धन्य भगवान ! कामेको हातले पनि इज्जत त थाम्यो आज । उनको चेन बनाउने चक्करमा आफु पुरै भिजि सकेको पत्तै पाइन । अव पो अलि अलि चिसो लाग्न थालेपछि होस आयो— पानी त झन दर्किन थालेछ ।
“थ्याँक्यु” — उनको मुहारमा हल्का मुस्कान छायो‚ मानौ मेरा लागि त्यो मुस्कान‚ मुस्कान होइन माघको न्यानो घाम हो । “तिम्रो हातमा नि कालो लाग्यो है ?”— एउटा लगात्मक वाक्य गुजियो उनको मुख बाट । “ओके केइ छैन”— वस यति भन्न सके मैले । उनले भिजेको रुमाल अघि वढाइ ।
पानी अझ बेतोडले दर्कियो । साइकलको चेन लाइदेको कृतज्ञता स्वरुप हो सायद — उनले साइकल डोर्याउदै मसँग हिड्दै जाने मन गरि । केहि वेर हामी मौनता मै चुपचाप चुपचाप हिडि रह्यौ । घरि घरि छड्के आँखा पारेर म उनलाइ हेर्थे भने घरि घरि उनि पनि मलाइ छड्के आँखा पारेर हेर्ने गर्थि जव हाम्रो आँखा जुध्थ्यो – दुवैको नजर भुइ तिर झुक्थ्यो । ज्ञानकुञ्ज स्कुल छिर्ने बाटो निर आइपुग्दासम्म हामी एक अर्कालाइ बोलाउने आँट आएन । त्यस ताका ज्ञानकुञ्ज स्कुल जाने बाटोको मुखैमा ठुलो पिपलको रुख थियो ( अहिले त्यो रुख छैन ) ठ्याक्कै त्यहि रुखको मुन्तिर हामी आइ पुग्दा पुरै गौरीगँज उज्यालिने गरि विजुली चम्कियो । सवि जहाको त्यहि ठिँग उभिइ साइकलको ह्याण्डिल समातेका उनका दुवै हात स्वचालित मेसिन झै उनको दुवै गालामा पुग्यो । उनले बेस्सरी दुवै कान थुनेर आँखा चिम्लिइ । ह्याण्डिल छोडेपछि साइकल पनि निरिह वन्दै भुइमा बजारियो ।
“सवि ……………..”— म कहालिएँ ।
निमेष भर मै गड्याङ् गुड्ङ चट्याङ्को आवाजले पुरै गौरीगँज थर्कियो । बल्ल उनले आँखा खोली । उनका अनुहारमा त्रासका भावहरु म प्रष्टै पढ्न सक्थे । “मलाइ विजुली चम्किदा एकदमै डर लाग्छ ।”— उनको स्वर पनि एकदमै काँपेको थियो । एक मनले त भन्यो— उनको त्रषित देहलाइ निमेष भरमै अँगालो भित्र समेटुँ र सँधैको लागि छाति भित्र लुकाइ दिउँ— कहिल्यै चट्याङ्को लेस सम्म नपुग्ने गरि ।
त्यस दिन पढाइ भएन । वद्यार्थी कम आएकाले पानी रोकिएपछि छुट्टि भयो । तर त्यस दिन देखि हाम्रो वोलचालको सिलसिला भने शुरु भयो ।
एउटा यस्तो आत्मियताको शुरुवात‚ जहाँ न त परिचय आदान प्रदानको खाँचो पर्यो न त सम्वन्धको । अर्धबार्षिक परीक्षा नआइपुग्दै हामी एकअर्का सँग यति नजिकिइसकेका थियो कि स्कुल जाने बेलामा म उनलाइ पर्खिन्थे‚ कुनै दिन उ चाडै आइ भने आँगन बाहिर मलाइ पर्खिदिन्थी ।
दिन गन्दागन्दै अर्धबार्षिक परीक्षापनि सकियो । अर्धबार्षिक परीक्षा लगतै स्कुल लगभग डेढ महिनालाइ बन्द हुदै थियो । हिजो अस्ति सम्म स्कुल विदा हुँदा रमाउने यो मन यसपाली भने खिन्न हुदै थियो ।
बर्खे विदा शुरु भयो । गौरीगँजको बाताबरण झरीमय बन्यो । धानका बेर्नाहरु धमाधम खेतका गरा गरामा सार्न थाले किसानहरु । गाउँका सवै दौतरीहरु अचेल खेत तिरै भेटिन थालेका थिए । रोपाहारहरु सँगै म पनि धान रोप्न जान्थे । धान रोप्दा रोप्दै कहिलेकाँहि म कल्पनामा हराउँथे । जहाँ सवि म सँगसँगै धान रोपि रहेकी हुन्थी ।
वर्खे विदा शुरु भएदेखि नै हप्ताको दुइ दिन बुधबार र शनिवार मेरा लागि विशेष हुन थालेको थियो किनकी हप्ताको यहि दुइवटा बार थियो जसले मलाइ सवि सँग भेट गराइ दिन सक्थ्यो । सविसँग भेट भइ हाल्छ कि भन्ने आशले बुधबार र शनिवार म जाँगर चलाएर हटिया जान्थे सव्जि किन्न । तर बिदा शुरु भएको लगातार दुइ हप्ता सम्म कुनै हटियामा पनि सवि देखा परिनन् । रोपाइका कारण यता घर तिर व्यस्तता बढ्दै गएको थियो भने सविलाइ भेट्न नपाएका कारण उसै गरि मनमा एक प्रकारको बेचैनी पनि वढ्दै गएको थियो ।
विदा शुरु भएको त्यो तेस्रो हप्ताको शनिवार थियो । त्यसो त आज सव्जि किन्न आमा आफै हटिया जानुभएको थियो तर रुपक दाइको पसलमा कपि किन्न जाने बहाना गरि मपनि निस्किए हटिया तिर । आज पुरै घाम चर्केको थियो । मानिसहरु रोपाइ तिरै ब्यस्त भएकोले होला— उति भिडभाड थिएन हटियामा । हटियाको पुरै एक चक्कर लाइ सक्दासम्म म पसिनाले निथ्रुक्कै भइसकेको थिएँ । फेरी अर्को चक्कर लाउने आँट आएन । त्रिभुवन लाइव्रेरी अगाडि अलिक सितल थियो । त्यहि उभिएँ । यसो दक्षिण तिर नजर के घुमाएको थिएँ — बाबुराजा दाइको पसल पछाडि सवि देखा परि ।
मरुभुमीमा हिड्दा हिड्दै तिर्खाएको यात्रीले महिनौ पछि पानी भेटे जस्तो‚ कुनै भक्तको भाकल वर्षौ पछि पुरा भए जस्तो‚ मनमा एकै पल्ट खुशीका हजारौ छालहरु तरँगित भयो । मन यति हर्षित भयोकी म हटियामा छु भन्ने कुराको पनि हेक्का रहेन । एक्कासी चिच्याउनु पगेछु —“सवि ..................... ”
मेरो चिच्याहट सविले सुनिन् कि सुनिनन् ‚ थाहा भएन तर मेरा वरिपरि उभिएका हटियाका सवै म तिर हेर्न थाले । अब पो मलाइ होस आयो— म त हटियामा पो छु । आफैलाइ लाज लागेर आयो । लुसुक्क त्यहाबाट निस्किएँ । सवि अलिक वर आइ सकेकी थिइन् । नजिक पुगेर फेरी बोलाएँ । बल्ल उनले मलाइ देखिन् । देख्ने वितिकै मुस्कानको झट्टी हानीन् ।
डार्क स्काइ कलरको कुर्था सेतो सलवार र घाँटीमा बेरेको सेतो सलमा सविको पर्सनालिटी झनै खुलेको थियो । आज उनले आखामा गाजल पनि लगाएकी थिइ । उसै त म उनको आँखैमा मरि मेटेको मान्छे‚ गाजलु आँखाले झनै मनमा हलचल गराइदियो ।
उनि सव्जि किन्न आएकी थिइन् । त्यस दिन म उनको झोला बोक्ने असिस्ट्न्ट बने‚ उनि मालिक्नी । उनि छानिछानि सव्जी किन्थिन् म झोला थाप्थे । यस्तो लाग्यो — समय आज यतै कतै रोकि जाओस‚ आज साँझ पर्दै नपरोस । उनको सब्जि किन्ने काम कहिल्यै नसकियोस र म जिन्दगी भरी उसै गरि उ सँगसँगै हिडिरहन पाउँ ।
त्यसपछिका अरु एक दुइ हटियामा सवि सँग भेट भयो प्रत्येक भेटमा उसै गरि उनि मुस्कुराएर मेरो स्वागत गर्थी भने प्रत्येक पटक चटपटे खाएर हामी छुट्टिन्थ्यौँ । भगवान राम लाइ १४ बर्ष बनबास कटाउन त्यति मुस्किल भएन होला जति मलाइ यो डेढ महिनाको बर्खे विदा कटाउन मुस्किल भइरहेको थियो । बिछोडको एक एक दिन एक वर्ष जस्तो लाग्न थालेको थियो । हरेक दिन म कयालेण्डर हेर्थे अनि भदौ ५ गते आउने दिन गन्थे ।
कहिलेकाँहि राती सपनामा सविलाइ देख्थे — सपनामा सवि र म एउटै साइकलमा बसेर कतै गइ रहेका हुन्थ्यौँ । हामी गइ रहेको बाटो एकदम सुनसान हुन्थ्यो । आकाशमा कालो बादल मडारिएर अध्यारो हुन्थ्यो अनि हामी रतुवा खोलाको किनारमा पुगेर टक्क अडिन्थ्यौ । फेरि आकाशमा विजुली चम्किन्थ्यो । सवि एक्कासी मेरो छातिमा टाँस्सिन्थिन् । जसै म उनलाइ अँगालोमा बाँध्न हात उठाउथे— प्रत्येक पल्ट म ब्युझिन्थे ।
साउने झरी दर्कि नै रह्यो । विस्तारै गौरीगँजका खेतहरु हरियो रँगले भरिदै गए । घरको भित्तामा क्यालेण्डर पल्टेर भदौको सँकेत गर्यो — सविसँग भेट हुने दिन आयो ।
भदौ ५ गतेदेखि फेरी नियमित स्कुल शुरु भयो । हाम्रो कक्षा नमिले पनि मन एकदमै मिल्न थालेको थियो । त्यसो त म सवि भन्दा दुइ क्लास सिनियर थिएँ । तरपनि उ मलाइ तिमी नै भनेर सँबोधन गर्थी । उनको “तिमी” मा म एक प्रकारको मिठास पाउथे । त्यो सँबोधनमा एक प्रकारको आफ्नोपन घोलिएको हुन्थ्यो जुन मेरालागि नशा जस्तै बन्दै गएको थियो ।
कहिलेकाँहि हामी दुर्गा मन्दिर छेउको भाटे सिनेमा हलमा स्कुलबाट भागेर फिलिम हेर्न पुग्थ्यौ । फिल्मका गीतहरु मा जब नायक र नायिकाहरु हात समातेर डाँडाकाँडामा नाच्दै हिड्थे— नायकको ठाउँमा म आफैलाइ अनि नायिकाको ठाँउमा सविलाइ राखेर कल्पनाको दुनियामा सयर गर्न पुग्थे । सविले सोध्थी —“फिलिम राम्रो लाग्यो ?” हरेक पल्ट मेरो जवाफ हुन्थ्यो —“उम् तिमी जस्तै ।”
भदौरेझरी टरेर घर आँगनमा दसैँको शुभागमन हुनै लागेको थियो तर गाँउघरमा पहिला को जस्तो रौनक थिएन । रोल्पा रुकुम बाट शुरु भएको माओवादी जनयुद्धले विस्तारै देश ब्यापी रुप लिइ सकेको थियो । त्यस बेला घरगाँउ तिर सुनिने एक मात्र रेडियो नेपालका बिहान बेलुकीका समाचारमा प्राय मृत्युका खवरहरु मात्र बज्न थालेका थिए । माओबादीहरुले ताकी ताकी प्रहरी चौकीहरुमा आक्रमण गर्न थालेका थिए । गाँउहरु असुरक्षित हुन थालेपछी प्रहरी चौकी र चेक पोष्टहरु विस्तारै सदरमुकाम तिरै सारिन थालेका थिए ।
दसै नलाग्दै गौरीगँजको इलाका प्रहरी कार्यालयपनि खालि भयो । असुरक्षाका कारण देखाउदै यहाका सवै सुरक्षाकर्मीहरु चन्द्रगढि सारिए । गाउँमा झनै असुरक्षा भयो । यो सालको दसै‚ दसै जस्तै भएन । मानिसहरु विना काम घर बाट निस्कन छाडे । पोहोर परार सम्म नौ दस बजे रात सम्म गुल्जार हुने गौरीगँजका चोक पसलहरु साँझ सात बजे तिरै सुनसान हुन थाले । गौरीगँजको भाटे सिनेमा हलमा नाइट शो बन्द भयो ।
जनयुद्ध हाम्रो चासोको बिषय थिएन । तर माओबादी भन्ने तत्वसँग हाम्रो मनमा पनि डर पैदा भइसकेको थियो । हामी नियमित स्कुल आउँथ्यौँ । भेटघाट र सामिप्यतामा कुनै कमी आउँन दिएका थिएनौ । दसै लगत्तै म आफ्नो पढाइ तिर बढि केन्द्रित हुन थालेको थिएँ किनकी अबको ५ महिना पछि मेरो एसएलसी परीक्षा शुरु हुदै थियो ।
एसएलसीको प्रसँग आउने वितिकै सवि पिरोलिन्थी कहिलेकाँहि । भन्थी —“एसएलसी पछी यसरी हाम्रो सधैँ भेट हुदैन । मलाइ त विर्सिन्छौ होला ।” अनि म जिस्काइ दिन्थे — “एसएलसी आएर के भो र ? पास भएपनि तिम्लाइ दुइ बर्ष पर्खुम्ला न । अनि सँगै क्याम्पस जोइन गर्ने ।”
गौरीगँजका सुरक्षाकर्मी सदरमुकाम सारिएपछि डर र त्रास कै विच गौरीगँजेहरुले दसै तिहार मनाए । हिजो अस्ती सम्म पहाडका गँउ तिर हुने बम् बारुद का घटनाहरु नजिक नजिक सर्न थालेका थिए । दसैमा नौ दिन माझीका ढोल र सनाइहरुले मालश्रीको धुन त बजाए तर त्यो धुनमा रौनक थिएन‚ उत्साह थिएन र सवै भन्दा ठुलो कुरो— त्यो धुनमा दसैको गन्ध थिएन । तिहारमा बत्ती बले तर गौरीगँजेहरुको मन झिलमिलाएन । मखमली र सयपत्री त फुले तर खुशीयाली फुलेन । कुनै अनिष्ट छाँया गौरीगँजकै वरिपरि घुमिरहेको भान हुन्थ्यो । साँझ नपर्दै गौरीगँजका गल्ली सडकहरु सुनसान भइसक्थे । राती नौ बजेकै प्रहर पनि चकमन्न हुन्थ्यो । बाटामा कुकुरहरु रोएको कर्कश आवाजले मनै अत्याउथ्यो ।
मँसिर को पहिलो हप्ता नै गौरीगँजको शान्त बातावरणलाइ अनिष्ठ शक्तीले बिथोल्यो । त्यो मँसिर २ गतेको रात थियो । गँरीगँजमा सुरक्षाकर्मीको अनुपस्थिती देखे पछि भारतिय डाकाहरुले स्थानीय ब्यापारी बाबुराजा श्रेष्ठ र मखना महतोको घरमा आतँकको नाँगो नाच देखाए । यो घटनाले गौरीगँजेहरु यति आतँकित बने कि गौरीगँजका सडक गल्लीहरु दिउसै पनि सुनसान हुन थाले ।
पाका उमेरकाहरु खासखुस कुरा गर्थे— यो जत्रो डकैतिको घटना अहिले सम्मको गौरीगँजको इतिहासमै घटेको थिएन । त्यो रात केवल बाबुराजा श्रेष्ठ र मखना महतोको घर मात्र लुटिएन‚ स्थानिय काठ ब्यापारी जयनारायण दास‚ धान ब्यापारी मेहनलाल दास र लालबाबु चौधरी समेत लुटिएका थिए ।
घटनाको भोलि पल्ट साही सेनाको सुरक्षा टोली गौरीगँज आयो । सुरक्षाकर्मीको टोली फर्केपछि गाउँमा ५०— ६० जना माओबादीहरुको टोली गाउँ पस्यो र गौरीगँजको एक मात्र टेलीफोन सेवा ०२३- २९८४४ नँवरको बुथ तोडफोड गर्यो । बुथ सँचालक विजय अग्रवाललाइ उनिहरुले आइन्दा गाउँमा पुलिस नबोलाउन चेतावनी दिएर गए ।
त्रास बढ्दै गएपछि गाउका युवाहरु राती राती समुहमा गस्ति थर्न थालेका थिए । गाउँमा हल्ला चल्यो — माओवादीहरु गाउँ गाउँ पसेर तन्नेरी केटा केटा केटीहरुलाइ छानि छानि लादैछन् रे । यो हल्ला पछि केटाहरु गस्तिमा निस्कन डराउन थाले । गाउँमा सुरक्षा माग गर्दै गाउका अगुवाहरु चन्द्रगढी पुगे । अन्तत: मँसिर १२ गते देखि गौरीगँजमा जनपथ‚ सशस्त्र र साही सेनाको सँयुक्त सुरक्षा बेस क्याम्प (युनिफाइड कमाण्ड) स्थापना भयो ।
गाउँमा सुरक्षाकर्मी त आए तर गाउँलेले अझै सुरक्षित कहसुस गर्न सकिरहेको थिएन । जनपथ र सशस्त्र भन्दा शाही सेनाहरुको दव्दवा गाउँमा बढ्दै गएको थियो । गाउँमा नयाँ अनुहार देखा पर्नु हुदैनथ्यो । नयाँ मानिस देख्यो कि सेनाले पक्रेर लगिहाल्थे र रातभरी सास्ती दिन्थे ।
पाठक बृन्द ! तपाइहरु सोच्दै हुनुहुन्छ होला — कथामा फुल अफ रोमान्स चल्दा चल्दै जनयुद्ध‚ डकैति र आर्मी पुलिसको बोरिङ प्रसँग किन आयो ? जव हामी सुखमा हुन्छौ तव सोच्छौ — जिन्दगी यहि गतीमा एक नासले चलि रहोस । तर जिन्दगी सँधै एक नासले आफ्नो गतीमा कहाँ चल्छ र ? वरिपरि घटी रहने ससाना घटनाले जिन्दगीको भोगाइमा ठुलो प्रभाव पार्दो रहेछ ।
गौरीगँज भित्रिने नयाँ मानिस प्रती आर्मी पुलिसको ज्यादती बढ्न थालेपछी बुधबारे र शनिवारे हटिया पनि पातलिँदै गएको थियो । वरपरका गाँउका मानिस गौरीगँज आउन डराउथे । अत्यावश्यक काम नपरी उनिहरु गौरीगँज आउदैनथे । आएपनि समसाँझै घर फर्की सक्थे ।
मँसिरमा बिबाहका बाजाहरु बजे तर पहिला जस्तो रौनक रहेन । प्राय रातीको लगनमा हुने गौरीगँजका बिहे हरु दिवा लग्नमा हुन थाले । स्कुल जाँदा घर फर्कदा सवि र म प्राय सँगै हुन्थ्यौ । बाटामा कहिलेकाँहि जन्तीका गाडि भेटिन्थे । मनमा कल्पना आउथ्यो— कुनै दिन यस्तै गाडिमा म बेहुला भएर सविको घर पुग्ने छु र रातो साडीमा सजिएर बेहुली बनेकी सविलाइ सधैको लागि आफैसँग लिएर आउनेछु । जव यस्तो कल्पना मनमा आउथ्यो‚ म मनमनै मुस्कुराइ दिन्थे । कहिलेकाहि त्यो मनमनैको मुस्कान पनि बाहिर प्रष्फुटन भइदिन्थ्यो । “किन हासेको ? मेरो अनुहारमा केही लागेको छ र ?” — सविले जिज्ञासा राख्थी । म अझ हाँसेर टार्न खोज्थे —“केहि होइन” उनि फर्की फर्की आफ्नो ढाड र कम्मर हेर्न थाल्थी । तिनताका क्लासमा थाहा नपाउने गरी कागजको पुच्छर बनाइ दिएर मज्जा लिने चलन चलेको थियो ।
पुस लाग्यो । दिन निकै छोटिएको थियो भने जाडो पनि अचाक्ली बढेको थियो । एसएलसी परीक्षा झनै नजिकिदै थियो । साल भरी भइ रहने बन्द हडतालले कोर्स पुरा नभएपछी हामी दस कक्षाका लाइ छुट्टी पछी पनि एउटा पिरियड थपिएको थियो । स्कुल बाट घर फर्कीदा सम्म रातै परि सक्थ्यो ।
हाम्रो क्लास थपिएपछी अचेल घर फर्किदा सवि मलाइ पर्खिन छोडी सकेकी थिइ । परीक्षा नजिकिदै गर्दा क्लास पनि एकदम टाइट हुल्यो । स्कुल जाँदा बाहेक अरु बेला सविसँग भेटै हुन छोड्यो ।
भेटघाट पातलिदै गए पछि हामीले एउटा जुक्ती निकाल्यौ । घरबाट स्कुल निस्किँदा साइकल नलिइ हिड्न थाल्यौ हामी । यसो गर्दा १५ मिनेट भएपनि हाम्रो दैनिक सहयात्रा लम्विएको थियो । विहानको यहि छोटो हिडाइमा हामी भविष्यका ठुला ठुला योजना कल्पि सक्थ्यौ ।
माघमा हुने मेरो सेन्ट अप टेस्ट परीक्षाको पनि रुटिन आइ सकेको थियो । म जोडतोडले परीक्षाको तयारीमा जुटेँ । शनिवार पनि म घरबाट निस्कन छोडि सकेको थिएँ ।
अघिल्लो दिनको सल्लाह अनुसार त्यस दिन हामी आठै बजे घरबाट हिडेका थियौ । स्कुलमा सरसफाइ कार्यक्रम छ भनेर दुवैले घरमा ढाँटेका थियौँ । पुसको जाडो खपि सक्नुको थिएन । बाक्लो हुस्सुले गौरीगँजको बातावरणलाइ छपक्कै छोपेको थियो । पुजा मिष्ठान भण्डार काट्नै लाग्दा शाही सेनाको डफ्फा कवाज खेल्दै हाम्रै अगाडीबाट क्रस भयो । गौरीगँजमा युनिफाइड कमाण्ड बसेदेखि यसरी नै शाही सेनाका जवानहरु प्रत्येक विहान गौरीगँजका सडकमा लाम लागेर डौडिन्थे । सवै भन्दा पछाडी रहेको एक जना आर्मीले सविलाइ जिस्कायो । रिस त मलाइ खपि नसक्नुको उठ्यो नि । तर आर्मीहरुको अगाडी म एक स्कुले ठिटो के नै गर्न सक्थे र ? हामी चुप लागेर आफ्नो बाटो लाग्नुको विकल्प थिएन ।
चिया पसल बाहेक खजुरगाछी बजार अझै खुलिसकेको थिएन । वरतिर शिव मन्दिरमा शिवरात्रीको तयारी जोडतोडले चलिरहेको थियो । मन्दिरमा पेन्टिङको कामलाइ कामदारहरुले अन्तिम रुप दिन लागिरहेका थिए । पुल छेउको गेट निर पुगेपछि सविले कुरा खोलिन् — ”अचेल हामी सुति सकेपछि हाम्रो घरमा नयाँ नयाँ मान्छे आउछन् ।“ मेरो मनमा चिसो पस्यो । पुसको चिसो स्याँठले एकै पटक मुटू छेडे जस्तै भयो । ”कतै माओवादी त होइन ?“ — मैले सोधे ।
“मलाइपनि त्यस्तै लागिरको छ । अस्ति राती म ब्युझिँदा बाहिर उनिहरु बुवासँग गफ गरेको सुने । उनिहरुले तपाइका कति जना छोरा छोरी छन् भनेर बुवालाइ सोधिरहेका थिए ।” — सविले भनि । “किन त्यस्ती सोधेको होला नि”
मनमा अनेक शँका उपशँकाले दिमागलाइ छताछुल्ल पार्न थाल्यो । चोक आइपुगेर हामीले भक्का खायौ । “अब कहाँ जाने ?”— सविले जिज्ञासा राखि । मन थिरमा थिएन । अनेकौ शँकाले मनलाइ बेचैन बनाइ रहेको थियो । के साच्चै मावादीहरु सविको घर धाउन थालेका हुन् ? माओवादीहरुले मेरी सविलाइ अपहरण गरेर छापामार बनाउने हुन की ? मेरो १८ वर्षे अल्लारे दिमागमा यस्तै प्रश्नहरु तछाड मछाड गरिरहेका थिए ।
घडी हेरेँ — ठ्याक्कै साढे आठ बजेको थियो । स्कुल लाग्न अझै पौने दुइ घण्टा बाकी थियो । सरासर हामी स्कुल तिरै हान्नियौ । विहान दक्षिणको गेट खुलेको हुदैन । हामी उत्तरको गेटबाट भित्र छिर्यौ । स्कुलको चौर एकदम शुनशान थियो । बाक्लो हुस्सुले अलिक परको देख्न गार्हो भइ रहेको थियो । हामी सरासर माथी चढ्यौ ।
— “सवि ”
—“हजुर”
“माओवादीहरुले तिम्लाइ लिन आयो भने जान्छौ ?“— हठात मैले प्रश्न सोधे । किन सोधे— आफैलाइ थाहा थिएन ।
मेरो प्रश्नको गम्भिरता सायद उनले बुझिनन् । “जान्छु त । माओवादी त कस्ता हेन्सम हेन्सम हुन्छन् । तिमी जस्तो लिखुरे हो र ?”— उनि त झन इत्रिने मुडमा आइन् । तर म जिस्कीने मुडमा थिइन । मेरो अनुहारको भाव बुझेर होला उनि अलिक गम्भिर भइन् ।
“जान्न हौ जान्न ।”
सवि मेरो नजिकै आएर उभिइन् । —“तिमी गयौ भने चै जान्छु है । जाहि गए पनि तिम्लाइ चै छोड्दिन ।” उनले मेरो देब्रे हात बेस्सरी अठ्याइ । पुसको कठ्याँग्रिदो जाडोमा उनको हातको न्यानो स्पर्षले कता कता मलाइ करेन्ट लागे जस्तो भयो । मैले आफ्नो हात ताने । उनि हाँगा तान्दा लहरो तानिए झै मसँग टाँस्सिइ । उनको स्पर्षले आफु भित्र केहि पग्लिए‚ केहि पोखिए जस्तो भयो । मुटुको वेग बढेर आयो । ढुकढुकी आफ्नै बसमा रहेन । बरण्डाको पिल्लरमा ओतिएर हामी एक अर्काको अँगालोमा बेरियौँ । धडकन् साटीए । एउटा स्वर्गिय सुखको अनुभुतिले रोम रोम तरँगित भयो । उनले दुइटै आँखा चिम्लेकी थिइ । धडकनको बेग सँगै एक अर्काको तातो स्वाँस आपसमा जुध्न थाल्यो । उनका उष्ण उष्ण ओठहरुले मलाइ आमन्त्रित गरे झै लाग्यो ।
एक अर्काका ओठहरु नजिकिए । हामी एकअर्का भित्र हराउन लाग्यौ । सन्सिल्क र फेयर एन्ड लव्लीको मिश्रित सुगन्ध अनि उनका ओठको स्ट्रवेरी फ्लेवर मानौ मेरो स्वाँसमा घोलियो । कता कता म आकाशमा उडे जस्ती फिल भयो । जिन्दगी यति धेरै सुखमयी हुन्छ भन्ने कुरा बल्ल आज थाहा पाउदै थिएँ ।
तल कतै टाँढा कसैले खोकेको आवाज आयो । सवि सतर्क भइ । हामी एक अर्काको अँगालो बाट फुत्कियौ । स्वर्गिय सँसारबाट एक्कासी बर्तमानको धरातलमा खसे जस्तो भयँ । सवि लाजले शिर निहुर्याएर अलिक पर उभिइ । मलाइपनि उनको अनुहार हेर्ने आँट आएन । आँखा तन्काएर तल हेर्ने कोशिस गरे । पर सिसौ बारी तिर शर्माजी बाख्रा धपाउँदै थिए । उनैले खोकेका होलान् ।
“तल जाम्”— अबस्था लाइ सहज बनाउदै मैले आग्रह गरे तर सिधा नजरले सविको अनुहार हेर्नै सकिन । सवि मेरो पछि पछि आइ ।
त्यस घटना पछी लगातार ३ दिन सवि स्कुल आइनन् । एक दिन त उनलाइ पर्खिने भएर मेरो पहिलो पिरियड नै छुटेको थियो । चौथो दिन बल्ल सवि देखा परि । तर निकै उदास । हिजो अस्ति सम्म फक्रिनै आटेको फुल जस्तो अनुहार आज एकदमै ओइलाएको जस्तो देखिएको थियो । मैले बाटैभरि कारण सोधे तर उनले बताउन चाहिनन् । केहि होईन भनेर टारिन् तर म उनको अनुहारको भाव प्रस्टै बुझ्न सक्थे ।
तिन दिनपछि सेन्ट अप परीक्षा शुरु हुदै थियो तर मलाइ त्यो दिन न त पढाइमा ध्यान गयो न त साथी भाइको गफ मै । स्कुलमा पटक्कै बस्न मन लागेन । आठ क्लासको छुट्टी हुने बितिक्कै मपनि स्कुलबाट बाहिरिएँ । सवि अघि नै स्कुलबाट बाहिरि सकेकि थिइ म पनि हतारमा कुदेँ । चोकमा आइ पुग्दा बल्ल भेटे सविलाइ ।
—“क्लास छोडेर आयौ ?” उनले मन नलागि नलागि सोधे जस्तो गरि ।
—“उम तिमी केहि बोल्दैनौ त म कसरी पढ्नु ?”
उनि शुष्क हासो हाँसि मात्र ‚ अरु केहि बोलिनन् । मैले अनुभव गरेँ — उनको शुष्क हाँसोमा बेदना लुकेको थियो । बाटो भरी मैले पनि अरु केहि सोध्ने आँट गरिन । किनकी बिहान स्कुल आउने बेलामै उहि प्रश्न सोधेर म हाँरी सकेको थिएँ । उनि अझै मौन थिइन् । उनको मौनताले मलाइ स्लो प्वाइजनको काम गरि रहेको थियो । हिजो अस्ती सम्म रमाइलो लाग्ने गौरीगँज आज आफैलाइ बिरानो झै लागिरहेको गियो— उराठ उराठ एकदमै उजाडिएको जस्तो ।
गेउरिया पुल तरेपछि मैले शिवालय मन्दिर पस्न आग्रह गरेँ । उनले आनाकानी गरिनन् सरासर मसँग दक्षिणको गेटबाट भित्र छिरिन् ।
शिवालय मन्दिरको उत्तर पट्टि त्यस बेला आपको घना बगैचा थियो । शनिबारे हटियामा भेट भएको बेला हामी यहि आँपको बगैचामा बसेर घन्टौ सम्म गफिन्थ्यौ । म सरासर त्यहि आँपको बगैचामा गएर अस्पतालको बाटो तिर बाट छेलिने गरि एउटा ठुलो आँपको रुखमा अढेस लागे । हाम्रो मायाका साक्षी थिए ति आँपका रुखहरु — हिजो अस्ति सम्म यहि रुख मुनि बसेर हामीले बनाएका भविश्यका योजनाहरु यि रुखहरुले अझै विर्सेका छैनन् होला तर आज के भनेर कुरा शुरु गर्ने ? दिमागले केहि काम गरिरहेको थिएन । एक्कासी उनले मलाइ जोडले अँगालिन् । अघि देखि रोकेर राखेको उनको परेलाको बाँध टुट्यो । “अबदेखि मलाइ नपछ्याउ ल ।” — उनले यति मात्र बोल्न सकि आशुले उनको गला अवरुद्ध भयो ।
“के भो सवु किन तिम्लाइ नपछ्याउनु ?” उनको अवस्था देखेर भित्रै देखि माया लागेर आयो । मेरो पनि मुटु पग्लियो । अनि आखा रसाएर आए । उनको सलक्क परेको कैलो केसराशी सुम्सुम्याउदै मैले निकै पल्ट यहि प्रश्न दोहोर्याइ रहे तर अह ! उनको जवाफ आएन । तल गेउरिया सुकेर साँघुरिएको थियो— मेरो माया जस्तै । तर पनि उ आफ्नो गतिमा बगिरहेको थियो — एकदम धिर‚ शान्त अनि सुस्त भएर ।
भोलि पल्ट एक दिन स्कुल लाग्यो तर सवि आइनन् । पर्सि पल्ट टेस्ट प्रिपरेशन को निम्ती विदा दियो स्कुलले । आठ दिनको टेस्ट परीक्षा , त्यसपछी मेरो स्कुल लाइफ सकिदै थियो ।
हे प्रभु ! यो के हुदैछ मेरँ लाइफमा ? आकाश तिर फर्केर एक पटक चिच्याउन मन लाग्यो । धर्ति र आकाश च्यातेर धुजा धुजा बनाइ दिन मन लाग्यो । एका तिर दस वर्षे मेहेनतको परीक्षा सँघारमा उभिएको थियो त्यँहि अर्को तर्फ जिन्दगीको सबैभन्दा प्यारो बस्तु टाँढिदै थियो मसँग ।
मनमनै आफै कहालिएँ । सविको आँखा भरिएर आउदा बाँध पुकाउने ठाउँ मेरो छाति थियो आज मेरो आफ्नै आँखा भरिदा म कहाँ गइ आशु पोखुँ ?
पिरै पिरमा सेन्ट अप परीक्षा सकियो । जस्तो हुनु पर्थ्यो त्यस्तो भएन तर पनि फेल नै भइ हाल्छु कि भन्ने खालको निराशा जनक पनि थिएन परीक्षा । सविलाइ नदेखेको ठ्याक्कै दस दिन भइ सकेको थियो । परीक्षाको अन्तिम दिन खाना खाइ सकेपछी घरै पुगेर भएपनि एक पटक त सविलाइ भेटेरै छोड्छु भन्ने अठोट गरि सकेको थिएँ ।
दिउसो तिन बजे तिर साइकल निकालेर सविहरुको घर तिर हान्निएँ । रेडियोमा कान्तिपुर डायरी भरखरै शुरु भएको थियो । जता ततै माओबादी र शाहि सेनाको भिडन्तको खबर फुकिरहेको थियो रेडियोले । जताततै बम पड्केको र मान्छे मरेका समाचारहरु आफैमा झर्को लाग्दा थिए ।
दस दिन बिति सक्यो‚ अब त सवि सामान्य अवस्थामा आइ सकि होली । अबदेखि नपछ्याउ भन्नुको कारण नबताएपनि गफ सम्म त गर्छे कि भन्ने आशाका साथ म सविको घर तिर जाँदै थिएँ । मनमा नौलो उत्साहपनि थपिएको थियो — दस दिन पछि सविको दर्शन हुन गइरहेको थियो ।
अस्पताल जाने बाटोको मुस्लिम बस्ती हुँदै देवकोटा स्कुलबाट उतर अलिकती छ्ड्के छड्के लागे पछि सविको घर पुगिन्थ्यो । त्यसो त यस अघि म सविको घर पुगेको थिइन । उसैले एक पटक कुरै कुरामा आफ्नो घरको लोकेशन बताएकी थिइ ।
घर त खोजि निकाले तर आँगन भित्र छिर्ने आँट भएन । के भनेर छिर्ने ? को हो भनेर सोधे के जवाफ दिने ? वरिपरि नजर डुलाएर हेरेँ — कतै सवि बाहिर निस्कि हाल्छे की । तर कसैको चालचुल थिएन । बाँस र भाटालाइ ताछेर बारिएको उनको आँगन बाहिर कदमको रूख ठिँग उभिएको थियो । कति दिन देखि आँगन नबढारेर होला आँगनभरी हावाले उडाएर ल्याएका पात पतिँगर यत्रतत्र छरिएका थिए ।
“कस्लाइ खोजेको भाइ ?” एउटा पातले पातले अधबैशे मानिसले छेवैमा आएर सोध्यो । “स ….. सवि ……. सविको बुवालाइ ।” बोल्दा म अक्मकिएँ ।
“सविहरु त छैनन् त । पाँच छ दिन जति भो घर शुनसान छ ।” — त्यो मान्छेको कुरा सुनेर अचम्म लाग्यो । “कहाँ गएका हुन् ? तपाइलाइ थाहा होला नि ?” उत्सुकतावस मैले सोधे ।
“खै कहा गए थाहा छैन । राती राती माओवादीहरुलाइ बास दियो भन्दै पाँच छ दिन अघि एक हुल आर्मीहरु आएर सविको बुवा र आमा दुवैलाइ पक्रेर लगेका थिए । छोड्न त त्यहि दिन छोडेका हुन् तर त्यहि रात देखि परिवारकै अत्तोपत्तो छैन ।”
कुरा सुनेर मेरो पैतला मुनिको जमिन भास्सिए जस्तो भयो । चारै तिर अन्धकारले घेर्न लागे जस्तो ‚ न त कतै समाउने हाँगा न त कतै अडिन मिल्ने टेको जस्तो एकदम शुन्य शुन्य — यो जिन्दगी अनि यो सँसार निस्सार भए जस्तो भयो ।
के सविहरुलाइ माओबादीहरुले लग्यो त ? कि आर्मीहरुले कतै लगेर मार्यो ? माओबादी र आर्मीहरु बाट बच्न कतै लुकेर पो बसेका छन् की ? अनेकौ प्रश्न मनमा आए गए तर अह जवाफ कतै भेटिन ।
टेस्टको रिजल्ट आयो । पास भए तर मन खुशी भएन । बरु सविलाइ सँझेर झनै दुखि भएँ— कास ! सवि थिइ भने कति खुशी हुदै यो कुरा सुनाउथे होला ।
फागुन बाट शुरु भएको हाम्रो कहानी अर्को फागुन न आउदै ट्राजेडीको सिकार भएको थियो । गौरीगँजका खेतहरु गहु काटीएर खाली भए । आपका बोटहरुमा फेरी टिकुली लाग्यो । भारु चोक उत्तरको शिरिसको बोट फेरी राताम्मे भएर ढकमक्क भयो — बैशाख लाग्यो । तर मेरा लागि यि सव बेकार थिए ।
एसएलसी दिए । त्यो पनि सोचे जस्तो राम्रो भएन । कसरी राम्रो हुन्थ्यो ? मन खुशी भए पो । किताब खोल्थे । पाना भरी झल्झली सविको अनुहार आइ दिन्थ्यो । पढाइमा पटक्कै मन गएन । अरुले कुरा गर्थे — सविको परिवारलाइ कि माओबादीले कि आर्मीले मार्यो । तर उनको र उनको परिवारको हत्याको कुरा यो मनले कहिल्यै स्विकार्न सकेन ।
गौरीगँज उहि थियो । बातावरण पनि उहि थियो तर मलाइ एकदमै बिरानो जस्तो लाग्न थालेको थियो यो ठाँउ । गौरीगज खजुरगाछीका हरेक मानिस हरेक चिजविजहरुले मलाइ गिज्याए जस्तो खेदे जस्तो लाग्न थालेको थियो । गौरीगँज खजुरगाछीका हरेक चिजहरुमा सवि सँगको सँझना जो गाँसिएको थियो ।
कैयौ पटक म सविहरुको घरको चक्कर लाइ सकेको थिएँ —कतै सविहरु आइ हाल्छन् की भनि । हरेक पटक निराश भएर फर्के ।
भिडभाड र साथीभाइको जमघट मनपर्न छोड्यो । बिस्तारै म एकलकाँटे हुन थालेको थिए । धेरै बोल्न मन लाग्दैनथ्यो कसैले धेरै बोले झर्की दिन्थे ।
ममा आएको परिवर्तन आमाको नजर बाट बच्न सकेन । एक दिन आमाले के भयो भनेर सोध्नुपनि भयो । किन तँ अचेल कतै जाँदैनस् ? किन् धेर झर्कीफर्की गर्छस् ? यस्तै यस्तै प्रश्नको लर्को लगाइ दिनु हुन्थ्यो । मैले आमालाइ के जवाफ दिनु ? न त मसँग शव्द थियो न त कारण ।
यसै बीच ठेकीटोल देखि वर तिरको कल्भर्टमा एक दिन बम् पड्कीयो । गौरीगँजमा झनै त्रास फैलियो । साच्चै भन्ने हो भने अचेल मलाइ आर्मी र माओबादी नाम देखि नै घृणा लाग्न थालेको थियो । यहि दुइ तत्वले मेरी सविलाइ निलेको हुनु पर्छ ।
गौरीगँजमा पटक्कै बस्न मन लागेन । एसएलसीको रिजल्ट पछि बिराटनगर आएँ । तर यहाँ पनि सविको सँझनाले पछ्याइ रह्यो । प्राय सपनामा सवि आइ रहन्थी । उहि साइकल उहि स्कुल उहि सुनसान सडक अनि उहि रतुवा खोलाको किनार ।
समयले निकै फड्को मारी सकेको छ । त्यो हाम्रो ग्रिटिँग कार्ड र कान्तिपुर एफएमको जमाना मोवाइल र फेसबुकमा परिवर्तन भइ सकेको छ । अहिले पनि म दिनमा एक पटक फेसबुकमा सविलाइ सर्च गरि खोजि रहेको हुन्छु — कतै त उनि बाँचि रहेकी होलिन् नि ।
एक दिन सपनामा रतुवा खोला उर्लेर आएथ्यो । त्यस्तो भेलमा पनि माझीहरुले काठको सानो डुँगा खियाइ रहेका थिए । हामी सँगै थियौ तर किन हो कुन्नि उनि एक्लै त्यस दिन डुँगामा चढि रतुवा तरेर गएकी थिइन । आज यतिका बर्ष पछि उनलाइ यो सपनाको कथा सुनाउन मन लागेको छ । उनलाइ भेट्न मन लागेको छ । अँगालेर धेरै बेर रुन मन लागेको छ । अनि सोध्न मन लागेको छ — अब देखि मलाइ नपछ्याउ भनेर किन भनेकी ?
समाप्त
(दैव सँयोगले कुनै दिन सविसँग भेट भयो भने सविको कथा म मेरा पाठकहरुलाइ बवस्य सुनाउछु । )