माघ २५, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफ्नो पार्टीले फागुन ५ र १५ गते चर्को महँगीविरुद्ध देशव्यापी विरोध गर्ने बताए ।
पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको विश्वकर्माको भनाइ छ । पार्टीले संसदमा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टीका साथै राजनीतिक दलहरूबीच रुपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको उनको भनाइ छ ।
आगामी दिनमा राष्ट्रिय स्वाधिनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको विश्वकर्माले बताए । पार्टीले एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणविरुद्ध संघर्ष गर्ने पनि उनको भनाइ छ ।
‘जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने, राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्छ । फागुन ५ गते मिटरब्याज, बैंकको चर्को ब्याजदर र लघुवित्तका बिरुद्ध र फागुन १५ गते चर्को महँगीका विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्नेछ,’ विश्वकर्माले भने, ‘३ बुँदे सहमतिअनुसार एकीकृत जनक्रान्तिका सम्पूर्ण कमरेडहरू मुक्त हुनुपर्नेमा हालसम्म पनि ४० जना कमरेडहरू विभिन्न जेलहरूमा हुनुहुन्छ । राज्यले सहमति गरेअनुसार अविलम्ब बन्दी कमरेडहरू मुक्त गर्नुपर्छ । साथै मुद्दाहरू खारेज गरिनुपर्छ ।’