मँसिर १८ पाख्रीबास । धनकुटाको एक वडाध्यक्ष लाई घरभित्र थुनेर आगजनी गरिएको छ । धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा आगजनी भएको हो । वडा नँ ६ डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर गएराति अज्ञात व्यक्तिले आगो लगाएको हो ।

राती घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगाइदिएको वडाध्यक्ष गुरागाईँले जानकारी दिए । आगो लागेको थाहा पाएपछि छिमेकीको सहयोगमा झ्यालमा भर्याङ लगाएर गुरागाईंको परिवार बाहिर निस्केका थिए ।

घरमा गुरागाईका श्रीमान–श्रीमती सुतेका थिए । उनीहरु सुतिसकेपछि राती १२ बजेपछि घटना भएको हो । तल्लो तलामा रहेको भान्छा कोठाको ढोका खोलेर दुई वटा ग्यास सिलिण्डर एकै ठाउँमा भेला गरी सबै कपडाहरु पनि एकैठाउँमा थुपारेर आगो सत्काइएको पाइएको वडाध्यक्ष गुरागाईले बताए । उनका अनुसार तल्लो तलाका तीन वटा कोठामा आगो लागेको छ । आगोले तल्लो तलामा रहेका अधिकांस सामान जलेका छन् । घटना थाहा पाएपछि भेला भएका छिमेकीहरुले आगो निभाएका हुन् ।


आगो कसले लगाएको भन्ने खुलेको छैन । तर, घटनाको प्रकृति हेर्दा ज्यान मार्ने नियतले आगो लगाइएको देखिएको वडाध्यक्ष गुरागाई बताउँछन् ।
आगो निभाउँन केही ढिलो भएको भए ग्यास सिलिण्डर विस्फोट भएर घर पुरै ध्वस्त हुने अवस्था रहेको उनी बताउँछन् । घटनापछि आज बिहान प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको समाचार आजको राजधानी दैनिकमा छ ।