चैत १० काठमाडौं । तथ्यांक विभागले राष्ट्रिय जनगणना ०७८ को अन्तिम नतिजा सार्वजनिक गरेको छ । आज शुक्रबार सोल्टी होटेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अन्तिम नतिजा सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको अन्तिम तथ्यांकअनुसार अब नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ पुगेको छ।
यसअघि विभागले जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो । शुक्रबार अन्तिम जनगणनाको पुस्तक सार्वजनिक गरिएको हो ।
विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै जनसंख्या काठमाडौंको छ । हाल काठमाडौंको जनसंख्या २० लाख ४१ हजार पाँच सय ८७ पुगेको विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुर र कम जनसंख्या रामेछापमा रहेको पाइएको छ ।
विभागको नयाँ तथ्यांकमा पुरुषभन्दा महिलाको संख्या बढी छ । जसमध्ये पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ र महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ रहेको छ ।