असार २१ काभ्रे । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । उपचारका लागि धुलिखेल अस्पताल ल्याएका २४ जनामध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए । काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस करिब १० बजेतिर खाँडादेवी र सुनापति गाउँपालिकाको सिमानामा दुर्घटनामा परेको थियो । दुर्घटनामा ९ जनाको घटनास्थलमा नै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले १२ जनाको सनाखत भइसकेको जानकारी दिएका छन् ।
मृत्यु हुने मा रामेछाप सुनापति गाउँपालिका–५ बस्ने ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर विक, वडा नम्बर ४ बस्ने २६ वर्षीया समरिता तामाङ, काभ्रे रोशी गाउँपालिका–४ का २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिकाका १८ वर्षीय सुदीप गजमेर, सुनापाति–५ की २२ वर्षीया विपना तामाङ र मण्डनदेउपुर नगरपालिका–९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर छन् ।
यस्तै, सुनापाति–५ कै ३६ वर्षीया सञ्जु आलेमगर, ३५ बर्षीय रामबहादुर श्रेष्ठ, २५ बर्षीय बुद्ध तामाङ, ६० बर्षीय नेमा तामाङ रहेका छन् । दुई जनाको भने सनाखत हुन बाँकी छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । चालकले ब्रेक फेल भएकाले दुर्घटना भएको बताएको प्रहरीले जनाएको छ । गम्भीर घाइते ३ जनालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । २४ जना घाइते कि धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।