बैशाख ७ गौरादह । राप्रपाले गौरादह नगरपालिका का लागि मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ। आसन्न स्थानिय निर्वाचनको लागि मेयर पदमा गोपाल पौड्याल र उपमेयरमा भरिपुर्ण राईको उम्मेद्वारी रहने गरि उम्मेदवार तय गरेको हो।
पहिलेनै अनौपचारिक छलफलबाट उम्मदेवारीको तय गरिएको भएपनि पार्टी कार्यालय डिपु चोकमा बुधवार बसेको भेलाले सर्वसम्मतिबाट उक्त निर्णय गरेको क्षेत्रीय वरिष्ठ उपाध्यक्ष खेमराज तिम्सिनाले बताएका छन् ।
यसअघि मेयर पदमा नेता पौड्याल सहित जिल्ला प्रवक्ता सान नेपाल, क्षेत्रीय वरिस्ठ उपाध्यक्ष खेमराज तिम्सिना र क्षेत्रीय सचिव देवेन्द्र खड्का समेत आकांक्षी रहेका थिए।
मेयरको उम्मेदवार रहेका पौड्याल गत महाधिवेशनमा भारी मतका साथ निर्वाचित भएका केन्द्रिय सदस्य हुन्।
त्यस्तै पार्टीको विभिन्न तहमा रहेर जिम्मेवारी बहन गरिसकेकी गौरादह ७ दुधाली निवासी महिला नेत्री राई सामाजिक राजनीतिक रुपमा सदैव चर्चामा रहने राप्रपा जिल्ला कार्यसमिति सदस्य हुन् भने उनि महिला सशक्तिकरण संस्थाकी अध्यक्ष समेत रहेकी छिन्।
मेयर र उपमेयरमा प्रभावशाली उम्मेदवार उठाए संगै अन्य दल संग एकता गर्ने सम्भावना समेत टुंगिएको संकेत देखिएको छ।