राजविराजमा कोरोना सँक्रमण समुदायमा फैलिए पछी अनिश्चित कालिन निषेधाज्ञा जारी

पढ्न समय: 2 मिनेट

सप्तरीको राजविराज नगरक्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । बुधबार स्वास्थ्यकर्मीसहित १ दर्जनभन्दा बढीमा कोरोना संक्रमण देखापरेपछि स्थानीय प्रशासनले बिहिबार विहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञाको घोषणा गरेको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बिहिबार बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
सप्तरीको राजविराजमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । भारतबाट उपचार गरी फर्किएका एकबृद्धमा कोरोना संक्रमणको पुष्टि भएसँगै यही साउन १ गते धरानमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
उनको मृत्युपछि परिवारको सम्पर्कमा रहेका राजविराजका बासिन्दामा तीब्र रुपमा संक्रमण फैलिन थालेपछि संक्रमण समुदाय स्तरमा फैलिएको पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
बुधबार राजविराज नगरपालिका वडा नम्बर २ बस्ने ३१ वर्षीय युवक, वडा नम्बर ३ बस्ने ६३, ३२ र २३ वर्षीय पुरुष, वडा नम्बर ६ बस्ने ३२ र ३६ वर्षीया महिला एवम् ४० र ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको छ । त्यस्तै वडा नम्बर ७ बस्ने २० वर्षीय युवक र ४०, १७, १५ र १५ बर्षीया महिलामा कोरोना संक्रमण फेला परेको गजेन्द्रनारायणसिंह सगरमाथा अस्पतालले जनाएको छ । उता, सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–१ बस्ने एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
त्यस्तै,गजेन्द्रनारायणसिंह सगरमाथा अस्पतालका एक नर्स र एक स्वीपरलाईसमेत कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्स र एक स्वीपरमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख यादवले बताए ।

Facebook Comments
यो समाचार सेयर गर्नुहोस्