राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने को चुनाबी प्रचारमा रहेको गाडीमा तोडफोड भएको छ । चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रवि लामिछानेको प्रचारमा रहेको गाडी तोडफोड भएको हो ।
आइतबार दिउँसो चितवनको क्षेत्र नम्बरमा पर्ने मुग्लिन नजिकै गाडी तोडफोड भएको हो।
तोडफोडबाट बा १४ च ७६८४ नम्बरको गाडीको सीसा फुटेको छ। एक जना युवा गाडीमाथि चढेर लात्तिले हानेर सिसा फुटाएको भिडिओ राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दीपक बोहराले सार्वजनिक गरेका छन्।
सभापति लामिछानेले गाडीमाथि आक्रमण गर्नेलाई प्रहरीले सुरक्षा दिइरहेको आरोप लगाए। ‘यो ममाथि गरिएको आक्रमण हो,’ उनले भनेका छन्, ‘हाम्रा साथीहरू घाइते भएका छन्।’
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनजित तामाङले चुनावी प्रचारमा रहेका मानिसहरू चढेको गाडी तोडफोड भएको बताए।
सात वटा गाडीमा मानिसहरू चुनावी प्रचारमा गएका रहेछन्। तीमध्ये अन्तिमको गाडीमा चढेका मानिसहरूले गठबन्धनको झन्डा रहेको अर्को गाडीमा सवार मानिसहरूलाई जिस्क्याएको भन्ने छ,’ उनले भने, ‘उनीहरूबीच भनाभन र धकेलाधकेल भएछ। त्यसपछि गाडी तोडफोड भएको भन्ने छ।’
गाडी तोडफोडमा संलग्न रहेका मानिसलाई खोजिरहेको उनले बताए। सत्ता गठबन्धनमा रहेका दलका कार्यकर्ताले गाडी तोडफोड गरेको दाबी राष्ट्रिय स्वतन्त्र पार्टीको छ।