• फाल्गुन ८, २०७९
  • Madan Rajbanshi
  • 0

फागुन ८ मोरङ : मोरङमा बोरा भित्र एक महिलाको शव फेला परेको छ । हत्या गरेर बोराभित्र पोको पारी फ्यालेको अवस्थामा २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको हो ।

विराटनगर महानगरपालिका वडा नँ १९ कि सुनारको शव मोरङको बूढीगंगा गाउँपालिका २ अमाहीमा र आज मध्यान्ह तिर भेटिएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार प्लाष्टिकको बोराभित्र पोको पारेर नरसिंह चौधरीको ग्वालीमा फ्यालेको अवस्थामा शव फेला परेको र घटनाको अनुसन्धान सुरु गरिएको छ ।

‘शरीरका अंगहरूमा चोट रहेको अवस्थामा शव फेला परेको हो,’ उनले भने, ‘अन्यत्र हत्या गरेपछि बोरामा पोको पारी ल्याएर शव फ्यालेको हाम्रो अनुमान छ ।’

घटनामा संलग्न भएको आशंकामा मोरङको कटहरी गाउँपालिका ५ का ६२ वर्षीय एक पुरुष र विराटनगर १९ का २९ वर्षीय एक पुरुष लाई प्रहरीले पक्राउ गरेको छ ।

घटनामा उनीहरूको संलग्नता यकिन भइनसकेको भएपनि शंका लागेर पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको डीएसपी कार्कीले बताए ।

महिलाको घाटीमा चोट रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।