चैत २३ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका ले निर्माण गरिरहेको स्वागत गेटको निर्माण कार्यमा सडक विभाग दमकले रोक लगाएको छ । सडकको मापदण्ड बिपरित सो प्रवेश द्वारको निर्माण भइरहेको भन्दै बिभागले काममा रोक लगाएको हो । आफ्नो कार्यकाल को अन्तिम समयमा गौरीगञ्ज- दमक सडक खण्ड अन्तर्गत गौरीगञ्जको उतरी सिमानामा गौरीगञ्ज गाउँपालिकाले प्रवेश द्वार अर्थात् स्वागत गेटको निर्माण कार्य थालेको थियो ।
भिडभाड हुने सामाजिक महत्त्वको सडकमा प्रवेश द्वार बनाउँदा न्युनतम गाईडलाईनको पालना गरि सडक विभागको स्विकृति लिएर मात्र प्रवेश द्वार बनाउन पाईने नियम भएपनि गाउँपालिका ले बिभाग बाट स्विकृति नै नलिइ मनमौजी ढँगबाट सडकमा प्रवेश द्वार निर्माण गरिरहेको पाईएको ले निर्माण कार्यमा रोक लगाइएको कुरा सडक विभाग दमककी इञ्जिनियर शर्मिला देशारले गौरीगञ्ज दर्पण डटकम लाई वताएकी छन् । उनका अनुसार सामाजिक महत्त्वको सडकमा प्रवेश द्वार निर्माण गर्दा फर्मेसन बिद छोडेर निश्चित उचाईमा , २ सय मिटर वरपर कुनै सँरचना छ छैन आदि लगायतका गाइडलाइन पुरा गरि १× ५ को स्केलमा नक्सा तयार गरि पेस गर्नु पर्दछ । तर गाउँपालिका र यि कुनै मापदण्ड पुरा गरेको देखिदैन ।
सडक विभाग का अनुसार सो सडक पाडाजुँगी चेक देखि दक्षिण ३ किमी सम्म ४ लेनको बिस्तार का लागि प्रकृया शुरु भइसकेको र ३ किमि दक्षिणमा दुइ लेनमा सो सडकको बिस्तार का लागि प्रकृया अघि बढेको जनाएको छ ।
तर गौरीगञज गाउँपालिका का इञ्जिनियर सबिन क्षेत्री का अनुसार सो गेट सडक किनारबाट दायाँ बायाँ ३-३ मिटर मात्र छोडेर बनाइएको बताएका छन् ।
वडा नँ ३ अन्तर्गत को पानी ट्यांकी छेउमा रु १७ लाखको लागतमा उपभोक्ता समिति मार्फत निर्माण भइरहेको सो गेटको दुबै छेउको पिलर ठड्याउने कार्य भइरहेको छ । गौरीगञ्ज प्रवेश गर्ने मुख्य सडकको रुपमा रहेको सो सडक निकट भविष्यमा फराकिलो हुन सक्ने कुराको समेत हेक्का नराखी स्थानीय सरकार ले सो गेटको निर्माण थालेको थियो । भविष्यमा सो सडक फराकिलो हुन सक्ने देखिएपनि सडक दायाँ बायाँ पर्याप्त ठाउँ नछोडी गेट निर्माण गरिरहेको भन्दै स्थानीय हरुले समेत सो निर्माण कार्य को बिरोध गर्दै आएका छन् ।
प्रवेश द्वार निर्माण उपभोक्ता समिति अध्यक्ष गँगा राजवंशी का अनुसार सो गेट निर्माण मा हालसम्म करिब रु ४ लाख खर्च भइसकेको छ ।