माघ १९ गौरीगञ्ज । गौरीगंज स्थित तल्लो रामचन्द्र सिंचाई आयोजनाको उद्घाटन गरिएको छ । प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले सोमबार नहरको मुहानमा राखिएको रेगुलेटर घुमाइ रिवन काटेर उक्त आयोजनाको उद्घाटन गरेका छन् ।
जलस्रोत तथा सिंचाई विकास डिभिजन भद्रपुरका डिभिजन प्रमुख कृष्णप्रसाद राजवंशीको सभापतित्वमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं. १ का सचिव मोहनकुमार शाक्य, ऊर्जा जलस्रोत सिंचाई महाशाखाका प्रमुख रमेश पौडेल, गौरीगंज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु दाहाल, वडा नं. ५ का अध्यक्ष विजयसिंह गन्गाई, उपभोक्ता समितिका सचिव नगेन्द्र डाँगीलगायतको उपस्थिति रहेको थियो।

२०७५ साल असार २१ गते आयोजनाको निर्माण कार्य शुरु भइ समयमै निर्माण कार्य सम्पन्न गरेकोमा ठेकेदार कम्पनी नयाँबाटो शिवसताक्षी जेभीका प्रतिनिधिलाई प्रशंसापत्र समेत प्रदान गरिएको छ । सँझौता समयावधिमै काम सम्पन्न भई आयोजना शुरु भएकोमा मन्त्री कार्कीले निर्माण व्यवसायी र आमउपभोक्तालाई धन्यवाद दिदै खुशी व्यक्त गरेका छन् ।

प्रदेश नं. १ मासँचालित जम्मा ५ वटा सिंचाई आयोजना मध्ये तल्लो रामचन्द्रे सिंचाई आयोजना सबै भन्दा पहिले सञ्चालनमा आएकोले गरिबी निवारणमा यसले महत्वपूर्ण भूमिका खेल्ने कुरा मन्त्री कार्कीले बताएकाछन् । गौरीगंज गाउँपालिका वडा नं. ५ र ६ को करिब ७ सय विगाह जमिन सिंचाई हुने र यसबाट प्रत्यक्षरुपमा कृषकहरु लाभान्वित हुने उनको भनाइ थियो । मुहानदेखि मुख्य नहरको लम्बाई ४.२ किलोमिटर रहेको छ र २ वटा शाखा क्यानल रहेको उक्त नहर निर्माणका लागि प्रदेश नं. १ सरकारले रु ८ करोड ७९ लाख २० हजार रुपैयाँबाट बिनियोजन गरेको थियो ।