प्रदर्शनकारी र प्रहरी बीचको झडपमा ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख घर भइ भक्तपुर बस्ने २३ वर्षीय सुजन राउत रहेका छन् । गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि किस्ट अस्पतालमा लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सोहि झडपको क्रममा एकजना प्रदर्शनकारी घाइते भएका छन् ।

राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
राउतको छातीमा निलडाम देखिएको र शुक्रबार दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पताल पुर्‍याएपछि उनलाई ४५ मिनेट जति सिपिआर दिइएको थियो।

केहि बेर अघि युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका थिए । आगजनीबाट मन्त्रीको गाडीमा पर्णरुपमा क्षती भएको छ । गाडीमा आगजनी गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विभिन्न माग राख्दै केहीदिनयता रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयमा युवाहरूले निरन्तर प्रदर्शन गर्दै आएका थिए । शुक्रबारको प्रदर्शनका क्रममा केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले केहिबेर अश्रुग्यास र हवाई फायर गरेको थियो ।