फागुन ३, लहान । हिजो सिराहामा प्रणय दिवस मनाउन बोलाएर प्रेमीले एक नाबालिगमाथि बलात्कार गरेको घटना सार्वजनिक भएको छ । प्रेमीले ति बालिका लाई सिराहाको लहान नगरपालिकाको वडा नम्बर १ स्थित साथीको कोठामा लगेर बलात्कार गरेको घटना बाहिरिएको हो ।

भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर निकेश यादवले १५ बर्सिया नाबालिगलाई बलात्कार गरेको सिराहा प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले जनाए । लहान नगरपालिका १ स्थित अरुण यादवले भाडामा लिएर बस्दै आएको कोठामा निकेश यादवले नाबालिगमाथि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिराहा प्रहरीले जनाएको छ ।

बलात्कृत बालिकाको अवस्था गम्भीर रहेको सिराहा प्रवक्ता पाण्डे बताउँछन् । उनका अनुसार बुधबार दिउँसो बलात्कृत बालिका अत्यधिक रक्तश्राव भएर भएर बेहोस भएकी थिइन् । उपचारपछि उनको अवस्था सामान्य बनेपछि पीडितलाई घर पठाइएको सिराहा प्रहरी बताउँछ ।

सिराहा प्रहरी प्रवक्ता पाण्डेले भने,‘बलात्कारको ५-६ घण्टापछि पीडितको आफन्तले प्रहरीलाई खबर गर्यो, त्यस लगत्तै हामी घटनास्थल पुगेर प्रमाण जुटाउने काम गर्यौं । अनि आज बिहान सवा ३ बजे पीडकलाई पक्राउ गर्यौं ।’

पक्राउ परेका पीडक र पीडित बालिका दुबैजनाको मेडिकल गराएर बाँकी प्रक्रिया आगाडि बढाइएको सिराहा प्रहरी प्रवक्ता पाण्डेको भनाइ छ । पीडक यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको सिराहा प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार दुबैजना साथी नै रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अहिले पीडक यादवमाथि जबरजस्ती करणी मुद्दा अन्तर्गत म्याद थप गरेर कानुनी प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय लहानका डिएसी भोला भट्टले जनाए ।