माघ २१, काठमाडौं । नेकपा प्रचण्ड- माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । सरकार ले संवैधानिक निकायहरुमा जबरजस्ती पदाधिकारी नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो । आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने स्पष्ट पारेको छ । यस्तै विद्यार्थीहरुको परीक्षा सञ्चालनमा पनि कुनै अवरोध हुनेछैन भनिएकोछ ।
संघर्षका कार्यक्रम घोषणा गर्दै संघर्ष समिति सहसंयोजक पम्फा भुसालले एकपछि अर्को असंवैधानिक कदमको विरोधमा आमहड्तताल गर्ने जानकारी दिनुभयो । प्रतिनिधिसभा बिघटन गरेर सवैधानिक निकायका प्रमुखको नियुक्ति समेत असंवैधानिक भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
संसद बिघटन भईसकेको अवस्थामा सभामुखले परिषद्को सिफारिस फिर्ता पठाउँदा समेत प्रधानमन्त्रीले मनमौजी रुपमा नियुक्ति गरेकोले त्यसको खारेजीको माग गरिएको छ । लोकतन्त्रको रक्षाका लागि सम्पूर्ण देशभक्त र लोकतान्त्रिक मूल्यमान्यता मान्ने आमनागरिकलाई आन्दोलनमा सरिक भईदिन आग्रह गरिएको छ । कामचलाउ सरकारले यस्तो नियुक्ति गर्न नपाउने दावी गरिएको छ ।