चैत २८ मोरङ : रंगेली, डाइनिया लगायतका ठाउँमा स्थानीय केही मानिसले भारतीय गाडी ल्याएर नेपाली नम्बर प्लेट हालेर निर्वाध रूपमा कुदाइरहेका छन् । स्थानीय वासिन्दाका अनुसार त्यस्ता गाडी रंगेली र डाइनियामा एक दर्जनको हाराहारीमा छन् ।

कतिले नक्कली नेपाली नम्बर प्लेट हालेर त कतिले बिना नम्बर प्लेट नै चलाउने गरेका छन् । त्यस्ता गाडीबाट दुर्घटना भयो भने कसलाई उजुरी गर्ने भन्ने असामञ्जस्यमा छन् स्थानीय वासिन्दा ।

स्थानीयका अनुसार डाइनियाका खुर्सिद मियाँ, रंगेली–६ का परमेश्वर साह, रंगेलीकै राजेश साह, सुनवर्षी–९ का धर्मेशसिंह गन्गाई, सिक्टीका परवेज आलम आदिले भारतीय गाडी चलाइरहोका छन् ।

रंगेली ट्राफिक बीटका हवल्दार महेन्द्र यादवले उनीहरूसँग महिनावारी खाने हुँदा भारतीय गाडीलाई नक्कली नम्बर हालेर निर्वाध रूपमा चल्न दिएको हो ।

ट्राफिक हवल्दार यादव रंगेलीकै निवासी हुन् । उनलाई कसैले केही भन्यो भने म शिवकुमार मण्डलको, मेयर दिलिपको मान्छे हुँ, मलाई कसले के गर्न सक्छ भन्दै उल्टै धम्क्याउने गर्दछन् ।

सो विषयमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक इश्वरबाबु कार्की र मोरङका ट्राफिक प्रमुख चन्द्रबहादुर खड्कासम्म उजुरी गरेका छन् ।

उद्घोष दैनिक बाट