केहि समय अघि गौरीगञ्ज गाउँपालिकाकै मुटु मानिने गौरीगञ्ज चोक बजारमा असरल्लै पारेर सिटी सफारी तथा टेम्पो हरु पार्किङ गरेर राखिएका हुन्थे । त्यसैको अलिक पर दमक गौरीगञ्ज जोड्ने साँघुरो सडकमा सार्वजनिक बसहरु रोकी राखिएका हुन्थे । चोकको चारै तिर अब्यवस्थीत तरिकाले पार्किङ गरिएका सिटी सफारी टेम्पो तथा बसहरुले गौरीगञ्ज बजारको सुन्दरतालाइ त कुरुप बनाएकै थियो भने यस्ता अब्यवस्थित पार्कीङले सवारी आवागमत तथा पैदल यात्रीहरुलाइ समेत हिडडुल गर्न असहज भएको थियो । तर केहि दिन यता गौरीगञ्ज चोक सफा तथा ब्यवस्थित देखिन थालेको छ ।

सिटी सफारी तथा टेम्पो हरुलाइ निश्चित पार्किङ स्थल तोकिएको छ भने सार्वजनिक बसहरुलाइ प्रस्ताबित बस पार्कमै रोक्ने र त्यहि बाटै छुट्ने ब्यवस्था मिलाइएको छ । नव निर्वाचित वडाध्यक्ष श्रवण गिरीको प्रयासमा झापाकै माइ पश्चिमको सबै भन्दा पुरानो एतिहासिक बजार गौरीगञ्ज ब्यवब्थित गर्ने पहल थालिएको हो ।

गौरीगञ्ज स्थानिय सरकारको राजधानीका रुपमा रहेको वडा नँ ३ मा निर्वाचित भएर आएपछी गिरीले आफ्नो ध्यान गौरीगञ्ज बजारलाइ ब्यवस्थित गर्नमा केन्द्रित गरेका छन् । उनले पहिलो चरणमा चोक तथा बजार क्षेत्रका अब्यव्थित सवारी साधनको पार्कीङलाइ ब्यवस्थित गर्ने प्रयास गरेका छन् ।

त्यसो त यस अघिको निवर्तमान वडाध्यक्षले पनि बजार ब्यवस्थित गर्न नखोजेको होइन तर त्यो नियमित अनुगमनका अभावका कारण प्रभावकारी हुन सकेको थिएन । वडाध्यक्ष श्रवण गिरी भन्छन् − जनताले केहि नयाँ गर्न मलाइ जिताएर पठाएको हो । आफ्नो कार्यकालमा जनतालाइ परिवर्तनको अनुभुती दिलाएरै छोड्छु । उनले अब्यवस्थित पार्कीङलाइ ब्यवस्थित पार्न गत जेठ २७ गते सरोबारवालाहरु सँग सर्वपक्षिय छलफल चलाएका थिए भने असार १ गते देखि निश्चित पार्किङ स्थलहरुमा मात्र सवारी पार्किङ गर्न पाइने सहमती गराएका थिए । सोहि सहमती अनुरुप उनले सँकेत बोर्डकै ब्यवस्था गरि निश्चित स्थानहरुमा पार्कीङको ब्यवस्था गरेका छन् ।

उनले दोश्रो प्रयासका रुपमा सडक बत्तीलाइ लिएका छन् । अघिल्लो सरकारले सडक किनाराका पोलहरुमा जोडेको सडक बत्ती हरु जडान भएको केहि महिनामै बिग्रन थालेपछी त्यस त्फ आफ्नो ध्यान केन्द्रित गरेका छन् ।

वडा नँ ३ को वडा समितीको पहिलो बैठकले नै सडक बत्ती मर्मत का लागि ठेकेदार कम्पनीलाइ आग्रह गर्ने निर्णय गरेपनि ठेकेदार कम्पनी सम्पर्कमा नआएपछी उनि अब के गर्ने भन्ने छलफलमा छन् ।

यस बाहेक अहिले गौरीगञ्जको बजार क्षेत्रमा नबनिर्मित सडकहरु अतिक्रमणको चपेटामा छन् । बजार क्षेत्रको फोहर ब्यवस्थापन उतिक्कै चुनौतीको रुपमा रहेको छ भने सार्वजनिक शौचालयको अभाव र ब्यवस्थापन उतिकै समस्याको रुपमा रहेको छ । नव निर्वाचित वडाध्यक्ष गिरीले ढिलै भएपनि यि समस्याहरुमा समेत ध्यान केन्द्रित गर्न जरुरी छ ।