गौरीगञ्ज लगायत झापाका केही स्थानीय तहले विद्यालय सञ्चालनको तयारी गरिरहेका बेला जिल्ला प्रशासन कार्यालय झापाले भने अर्काे सूचना जारी नभएसम्मका लागि विद्यालय सञ्चालन नगर्न भनेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक सूचना जारी गर्दै शैक्षिकसंस्था, परीक्षा, सबै प्रकारका सभा, गोष्ठी, सेमीनार, सबै प्रकारका प्रदर्शन, सिनेमा हल, पार्टी प्यालेस, शैलुन, व्यूटीपार्लर, जिम हाउस सञ्चालन नगर्न भनेको छ ।

जिप्रका झापाले जारी गरेको सुचना


यसका साथै जिल्ला प्रशासन कार्यालय झापाले जारी गरेको सूचनामा सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल, पुस्तकालय, चिडिया खाना र संग्राहलय सिनेमा हल, ब्युटी पार्लर डान्सबार जिम खाना, सैलुन, समेत अर्को सूचनाबाट तोकिएको मितिदेखि मात्र सञ्चालन गर्न भनिएको छ ।
गृह मन्त्रालयको निर्देशन र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) झापाको निर्णय वमोजिम शैक्षिक संस्था लगायत केही सेवाहरु अर्को सूचना नभएसम्मका लागि सञ्चालन नगर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । ‘यो हाम्रो निर्णय होइन, गृह मन्त्रालयले परिपत्र गरेको छ, सोही निर्णयको कार्यान्वयन गराउने सवालमा डीसीसीएमसीको वैठकको निर्णय बमोजिम हामीले सूचना जारी गरेका हौं– सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले भने ।

अब सरकारले जारी गरेको निर्देशिका वमोजिम कसरी विद्यालय सञ्चालन गर्ने भन्ने बिषयमा सम्बन्धित स्थानीय तहहरुले समन्वय गर्नु पर्ने उनको भनाइ छ । शैक्षिक संस्था अन्तर्गत बिद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र तोकिएको छ । त्यस्तै शैक्षिक र अन्य परीक्षा समेत सञ्चालन नगर्न भनिएको छ ।
यता गौरीगञ्ज गाउँपालिका ले असोज १६ गतेदेखि शैक्षिक सँस्था हरु मा पठनपाठन शुरु गर्ने तयारी सहित असोज १ गतेदेखि नै भर्ना अभियानको प्रचार प्रसार शुरु गरेको छ ।

यसैबीच संविधानको मौलिक हकमा आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था भए पनि यसको पूर्ण कार्यान्वयन अझै चुनौतिपूर्ण देखिएको छ ।