• जेष्ठ २१, २०७९
  • Madan Rajbanshi
  • 0

जेठ २१, झापा । झापाको बाह्रदशी गाउँपालिकाले कक्षा ११ र १२ का विधार्थीलाई निशुल्क पढाउने निर्णय गरेको छ । शुक्रवार बसेको पहिलो कार्यपालिका बैठकले सो निर्णय गरेको गाउँपालिका अध्यक्ष देवेन्द्र चम्लागाईले जानकारी दिए ।

बाह्रदशीमा १६ वटा सामुदायिक विधालय रहेका छन् । त्यसमध्ये ३ वटा विधालयमा कक्षा ११ र १२ कक्षाको पठनपाठन भइरहेको छ । वडा नं. ३ को पशुपति मावि, वडा नं. ५ को फुलवारी मावि र वडा नं. ७ को गौरीशंकर माविमा ११–१२ पढाई हुने गरेको छ । यस अघि झापाको गौरीगञ्ज गाउँपालिकाको पहिलो बैठकले आफ्ना पालिका भित्र का छात्र छात्रा हरुलाई कक्षा ११ र १२ निशुल्क पढाउने निर्णय गरेका थिए ।

यस्तै बाह्रदशीको कार्यपालिका बैठकले ५ वटा उपसमिति गठन गरेको छ । मनबहादुर राजवंशीको संयोजकत्वमा आर्थिक विकास समिति, पञ्चानन राजवंशीको संयोजकत्वमा सामाजिक विकास समिति, लक्ष्मी निरौला अधिकारीको संयोजकत्वमा भौतिक पूर्वाधार समिति, महताव आलमको संयोजकत्वमा वन वातावरण तथा विपद् व्यवस्थापन समिति र तारादेवी थपलियाको संयोजकत्वमा क्षमता विकास समिति गठन गरिएको प्रशासन शाखा प्रमुख तेजु रेग्मीले जानकारी दिए ।

सोही बैठकमा यसअघि पाँच वर्ष जनताको सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेका जनप्रतिनिधिहरुलाई धन्यवादसहित सम्मान गरिएको छ । यस्तै, निर्वाचन सम्पन्न गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने निर्वाचन अधिकृत पुस्कलराज प्रसाईलाई समेत सम्मान गरिएको रेग्मीले जानकारी दिएका छन् । यस्तै, कार्यपालिकामा मनोनित ६ जनालाई सपथग्रण गराइएको छ ।