बचतकर्ताको रकम ठगी गरेको आरोपमा तुलसी बहुमुखी बहुउद्देश्य सहकारी संस्था लिमिटेड विराटनगरका तीनजना सञ्चालक पक्राउ परेका छन्भने अझ ५ जना फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका सहकारीका उपाध्यक्ष मोरङ उर्लाबारी नगरपालिका–६ का अनिता गौतम, सचिव झापा भद्रपुर नगरपालिका–१४ का सबिना न्यौपाने र क्षेत्रीय प्रबन्धक विराटनगर–२ का मन्दीप खवास रहेको जनाएका छन् ।

उनीहरूलाई बचतकर्ताको रू १२ करोड नौ लाख ठगीको आरोप लागेको थियो।

आईतबार जिल्ला प्रहरी कार्यालय मा १ सय २१ जना बचतकर्ता ले उनिहरु बिरुद्ध जाहेरी दिएका थिए ।‌सञ्चालकहरू बचतकर्ताको रकम फिर्ता नगरी यही फागुन १ देखि सम्पर्कविहीन भएका थिए। बचतकर्ता हरुको जाहेरी को आधारमा उनीहरूलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए।

मुख्य कार्यालय विराटनगर रहेको सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा गरी तीनवटा सेवा केन्द्रमा गरी २१ हजार सात सय १३ सदस्यमध्ये विराटनगरमा मात्र चार हजार रहेका छन्।

सहकारीले सबै सेवा केन्द्रमा गरी करिब रू एक अर्ब ५० करोड रकम बचतकर्तालाई फिर्ता गर्नुपर्ने प्रहरीको अनुमान छ।

संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित पाँचजना नै फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ।