• साउन २, २०७९
  • Madan Rajbanshi
  • 0

साउन २ गौरीगञ्ज । झापाको गौरीगञ्ज सँग सीमा जोडिएको भारतको फत्तेपुर नाकामा भन्सार कार्यालय राख्न भारत पहिलो पटक सकारात्मक देखिएको छ । आईतबार गौरीगञ्ज-फत्तेपुर नाकामा भएको नेपाल र भारत दुवै देशका भन्सार अधिकारीहरुको सँयुक्त सर्वेक्षण पछी भारत सो कुराप्रति सकारात्मक देखिएको हो ।

नेपालका तर्फबाट मेची भन्सार कार्यालय काँकडभिट्टा का भन्सार प्रमुख केशबराज ओली र भारतका तर्फबाट कस्टम डिभिजन फारबिसगञ्जका सहायक आयुक्त ज्ञानसिँह तिग्गाको नेतृत्वमा आईतबार गौरीगञ्ज- फत्तेपुर नाकाको सँयुक्त सर्वेक्षण भएको थियो ।

सर्वेक्षण पछी दुबै देशका अधिकारीहरुले व्यापार र पारवहनका लागि भारतको फतेहपुरदेखि नेपालको गौरीगञ्जसम्म उपलब्ध सडक र अन्य पूर्वाधारको पूर्ण सुविधा भएको देखिएको र दुवै पक्षले यसलाई उपयुक्त मार्ग मानेर भारतको फतेहपुरदेखि नेपालको गौरीगञ्जसम्मको स्थलमार्गबाट ​​व्यापार सुविधा सुरु गर्न सहमति जनाएका छन् ।

दुबै देश बीच भएको सहमति

सहमति पत्रमा नेपाल का तर्फबाट मेची भन्सार कार्यालय का प्रमुख केशबराज ओली, भन्सार अधिकृत राजेश कुमार दत्त, इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक जितेश दाहाल र सशस्त्र प्रहरी बल खजुरगाछी का प्रहरी निरीक्षक हरिकृष्ण गिरीले हस्ताक्षर गरेका छन् भने भारतका तर्फबाट कस्टम डिभिजन फारबिगञ्जका सहायक आयुक्त ज्ञानसिँह तिग्गा, कस्टम सर्कल किशनगञ का सुपरिटेन्डेन्ट रामनाथ राम र कस्टम सर्कल ठाकुरगञ्ज का सुपरिटेन्डेन्ट चन्द्र किशोरले सँयुक्त हस्ताक्षर गरेका छन् ।

मेची भन्सार कार्यालय काँकडभिट्टा का प्रमुख केशबराज ओली का अनुसार नेपाल तर्फ गौरीगञ्जका उहिले देखिनै छोटी भन्सार कार्यालय रहेपनि भारत तर्फ यस नाकामा भन्सार कार्यालय नहुँदा समस्या देखिएको र भारत तर्फ पनि भन्सार कार्यालय राख्न भारत पहिलो पटक सकारात्मक देखिएको बताएका छन् । गौरीगञ्ज दर्पण डटकम सँग कुराकानी गर्दै उनले फत्तेपुर-गौरीगञ्ज नाकामा दुबै देश तर्फ सडक पुल लगायतका पुर्वाधार हरुको सुबिधा देखिएकोले दुबै देश तर्फ भन्सार कार्यालय स्थापना गर्न र गौरीगञ्जको छोटी भन्सार लाई स्तरोन्नति गर्ने यो प्रारम्भिक सर्वेक्षण फलदायी रहेको बताएका छन् ।

गौरीगञ्जको छोटी भन्सार कार्यालय लाई स्तरोन्नति गरि फत्तेपुर मै कार्यालय स्थापना गर्न तिन बर्ष अघि देखि नै नेपालका तर्फबाट पहल शुरु भएको थियो । तिन बर्ष अघि मेची भन्सार कार्यालय का तत्कालीन प्रमुख टेकबहादुर अर्जेलको नेतृत्वमा सो नाकाको सर्वेक्षण भएको थियो भने कार्यक्रम राख्न नेपाल तर्फ फत्तेपुर क्षेत्रमा जग्गाको खोजि समेत शुरु गरिएको थियो तर कामले गति लिन सकेको थिएन ।

फत्तेपुर गौरीगञ्ज नाकामा भन्सार कार्यालय स्थापना हुनु अत्यन्तै सकारात्मक रहेको कुरा गौरीगञ्ज गाउँपालिका की प्रमुख फुलबत्ती राजवँशीले बताएकी छिन् । आफु भर्खरै निर्वाचित भएर आएकोले यस अघि सो स्थानमा भन्सार कार्यालय राख्न के कस्तो पहल भयो भन्ने वारे आफु अनभिज्ञ रहेको र अब सो भन्सार कार्यालय स्तरोन्नति गर्ने गाउँपालिका ले सक्दो सकारात्मक भुमिका निर्वाह गर्ने बताएकी छिन् ।