माघ २२, विराटनगर : नेकपाको दाहाल- नेपाल समूहले आह्वान गरेको आमहड्तालका क्रममा प्रदेश १ को राजधानी विराटनगरमा चियानास्ता पसलमा एक सुत्केरी सहित काम गरिरहेकी महिला माथि बन्दकर्ताले उम्लिइरहेको तातो तेल खन्याइ दिएका छन् ।


हड्तालको दिन विराटनगर महानगरपालिका–२ मा रहेको पसल सञ्चालन गरेको भन्दै बन्द गर्न पुगेको दाहाल–नेपाल समूहका कार्यकर्ताले अपरान्ह १२ बजेतिर उनीहरुलाई तातो तेल खन्याइदिएका हुन् । बन्द हडताल को नाममा घटाइएको क्रुरतापूर्ण घटनामा परेर दुई महिला घाइते भएका छन्। घाइतेहरु एउटै परिवारका आमाछोरी हुन्।
समोसा पकाउन तताएर तयारी अवस्थामा राखिएको तेल खन्याउँदा पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनी घाइते भएका छन्। घाइतेमध्ये बविता ६ महिनाकी सुत्केरी हुन्। पसलमा काम गरिरहेका बेला एक्कासि आएको समूहले उनीहरुमाथि तेल खन्याइदिएको हो।

घाइते बबिता सहनी

विराटनगर महानगरपालिका कार्यालयको गेट अगाडि रहेको चियानास्ता पसल किन बन्द नगरेको भन्दै निहुँ खोजेर आएको समूहले पसल सञ्चालक ४८ वर्षीय सहनीलाई पनि लाट्ठी, मुक्का र लात्ताले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए। कुटपिटबाट सहनीको अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। उनिहरुले पसलमा तोडफोड समेत गरेका छन् । तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुटेका छन्। पसलमा बनिसकेका खानेकुरा फ्यालिदिनुका साथै पसलका भाँडावर्तन पनि त्यो समूहले फ्याँक्ने र कुच्याउने काम गरिदिएको एक प्रत्यक्षदर्शीले बताए। त्यस्तै नास्ता बनाउन तयारी अवस्थामा राखिका सामान पनि बन्दकर्ताको समूहले फ्यालेर नष्ट गरिदिएको छ।
बन्दकर्ता हरुले विराटनगरमा सरकारी गाडि सहित केहि सवारीसाधन हरुमा तोडफोड गरेका छन् । उनिहरुले बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड गरेकाछनम बन्दकर्ता हरु तोडफोडमा उत्रिएपछि प्रहरीले जिल्ला सदस्य पारुल क्षेत्री, मिरा दाहाल, महानगर सचिवालय सदस्य सारदा मैलानीसहितलाई नियन्त्रणमा लिइएको छ । महिला नेतृहरुलाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले अभद्र व्यवहार गरेको आरोप उनीहरुले लगाएका छन् । आक्रोशित बन्दकर्ताले बा १६ च ४४०४ नम्बरको कारमा समेत तोडफोड गरेका छन् ।