पुस १५, गौरीगञ्ज । नेपाली काँग्रेस गौरीगञ्जका क्षेत्रिय प्रतिनिधि कमलेश्वर राजवंशी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । आज गौरीगञ्जमा आयोजित खबरदारी सभा तथा पार्टी प्रवेश कार्यक्रममा उनि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनि सहित तत्कालिन गौरीगञ्ज गाउँ पञ्चायतका प्रधानपञ्च विश्वराज रिजाल सहित करिब ७ सय जनाले बिभिन्न पार्टी परित्याग गरि आज माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनिहरुलाई माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदस्यता सहित स्वागत गरेका थिए ।
पूर्वप्रधानमन्त्री तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिबन्धु टि–स्टेट घोटालाको फाइल खोलेरै छाड्ने कुरा बताएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्वाचन क्षेत्र अन्तर्गतको झापाको गौरीगञ्ज पुगेर उनले गिरिबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने प्रतिबद्धता जनाएका हुन् ।
“मलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ । गिरिबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेर नै छाड्छु भनेको छु । मेरो सुई गिरिबन्धुतिर जाँदै थियो । त्यहाँ जाने भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो । त्यही भएर आतंक भएको हो तपाईँले ढुक्कसँग बुझे हुन्छ । फाइल खोलेरै छाडिन्छ’, उनले भने ।
गौरीगञ्जको अतिथि सदनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओली जस्ता जाली, झेली, कपटी मान्छे कोही नभएको बताए । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तेस्रोपटक प्रधानमन्त्री हुँदा थालेको सुशासन अभियान कांग्रेस र एमालेको हेडक्वाटरमा सोझिएपछि रातारात सरकार ढालेको दाबी गरेका छन् । ‘तपाईँहरूलाई थाहै छ । मेरो नेतृत्वको सरकारले भ्रष्ट, दलाल, बिचौलियाविरुद्ध चालिएको सुशासनको अभियान कांग्रेस र एमालेको हेडक्वार्टमा सोझिएपछि रातारात सरकार ढाले- उनले भने ।
नेकपा माओवादी केन्द्रका झापा जिल्ला इन्चार्ज झलकसिंह दर्लामी ‘सन्देश’को अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश इन्चार्ज हरिवोल गजुरेल, कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङवो ,वाईसिएलका केन्द्रीय सचिव डम्वर पुलामी(कर्मा), केन्द्रीय सदस्यहरु धर्मशिला चापागाई, रञ्जित तामाङ, लक्ष्मी न्यौपाने सरु, हरिकुमार राना, ज्योतिसिंह दर्लामी, भोजेन्द्र चौलागाई, प्रदेश उपाध्यक्ष मणीकुमार साङपाङ, प्रदेश सचिवालय सदस्य दुर्गा चौलागाई (श्रीकान्त) लगायत प्रदेश, जिल्ला र नगरका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।