विराटनगर, ६ असार । वनको कर्मचारी र पत्रकार बनेर धम्की दिँदै रकम असुली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको रतुवामाईमा धाकधम्की दिएर फर्निचर व्यवसायीसँग रकम असुल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सुनसरी इटहरी उपमहानगरपालिका ६ जुटविकासका ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देललाई प्रहरीले पक्राउ गरेको हो ।
फक्राउ परेकाहरुले व्यवसायीलाई आफुहरु पत्रकार र वन कार्यालयको कर्मचारी भएको भन्दै काठ मिलहरुमा तेल माग्ने गरेको प्रहरीले जनाएको छ ।
‘ सहयोग नगरे तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ’ भन्ने डर देखाउदै उनीहरले काठ मिलमा रकम उठाउदै आएको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) मानबहादुर राईले बताए ।
आसर ४ गते मोरङ रतुवामाई नगरपालिका १० मा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स–मिलबाट उनीहरुले धम्कीकै भरमा रकम उठाएका थिए ।
प्रहरीले पक्राउ परेका चौहानको साथबाट २५ हजार ९ सय ९५ रुपैयाँ नगद र सिग्देलको साथबाट ७ हजार रुपैयाँ, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड थान–१, उठाएको रकम अभिलेख भएको डायरी समेत बरामद गरेको छ ।
यस्तै कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र, जनमत साप्ताहिकको सम्वाददाताको परिचय १, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र पनि पुष्पप्रसाद सिग्देलको साथबाट प्रहरीले बरामद गरेको थियो ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय सिजुवाको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका चौहान र सिग्देलविरुद्ध ठगी कसूरमा थप अनुसन्धान कार्य भई रहेको छ ।