साउन २८, झापा । देश भरका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरु आन्दोलित भएका छन् । आफ्नो पेसागत हकहितको माग पूरा नगरेको र सरकारले शिक्षक र कर्मचारीहरुको मागलाई सम्बोधन नगरेको भन्दै आफ्नो पेसागत माग पूरा गराउन पहिलो चरणको कार्यक्रम अन्तर्गत स्थानीय सरकारको कार्यालयमा शिक्षकहरुले आज धर्ना दिएका छन् ।
आन्दोलित शिक्षक तथा विद्यालय कर्मचारी हरुले देशभरका पालिकाहरुमा धर्ना बस्नुका साथै आज आआफ्नो पालिकाहरुमा स्थानीय सरकार लाई माग पत्र समेत बुझाएका छन् ।
प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा रहेका केही दफाहरु संविधानप्रदत्त ट्रेड यूनियन अधिकार, शिक्षक कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमानको खिलाफमा रहेको भन्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशव्यापी रुपमा आन्दोलन सुरु भएको छ । यता गौरीगञ्ज गाउँपालिका मा पनि पालिका भित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारी हरुले धर्ना दिइ गाउँपालिका अध्यक्ष फुलबती राजवंशीलाई मागपत्र बुझाएका छन् ।