दमक-गौरादह-गौरीगञ्ज लिङ्क कार्यक्रम लाइ ६९ करोड

पढ्न समय: 3 मिनेट

असार १ गौरीगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा यस पटक बजेटको खोलो बगेको छ । प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ अन्तर्गत पर्ने गौरीगञ्ज गाउपालिकाको ४ वटा वडामा ४८ करोडको योजना आएको सार्वजनिक भए पश्चात दमक गौरादह गौरीगञ्ज लिङ्क कार्यक्रम अन्तर्गत रु ६९ करोड रुपैया बिनियोजन भएको सार्वजनिक भएको छ ।

भौतिक पुर्वाधार मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०८२ / ०८३ को योजना किताबको अनुसुची २७ मा दमक गौरादह गौरीगञ्ज लिङ्क अन्तर्गत ११ वटा सडक योजना सार्वजनिक गरिएको छ । जस अन्तर्गत मदन भण्डारी मार्गबाट दमक ४ हुँदै एसियन हाइवे जोड्ने सडकका लागि रु ३ करोड‚ एसियन हाइवे बाट दमक पुष्प धिरेन मार्ग हुदै मदन भण्डारी रँगशाला सडकका लागि रु ३ करोड‚ पुर्व पश्चिम राजमार्गबाट मेची आवास हुँदै तारावारी जोड्ने सडकाका लागि रु ४ करोड‚ कमलको गोहाबारी खयरबारी हुँदै पहघरे जोड्ने सडकका लागि रु ४ करोड‚ सितापुरी जीवन चोक हुदै प्रगती चोक जोड्ने सडकका लागि १० करोड‚ गौरादह सितापुरी रँगपुर स्कुल चौन चप्रामारी दामुना खजुरगाछी हुँदै फतेपुर जोड्ने सडकका लागि रु १० करोड‚ गौरादह मिलन चोक हुँदै गौरीगञ्ज ६ जोड्ने सडकका लागि रु ४ करोड‚ गौरादह हिमाल चोक ठकठके भुडेसिमल हुदै गौरीगञ्ज सम्मको सडक का लागि रु ४ करोड‚ गौरादह ८ कन्काइ ह्याचरी देखि ठेकिटोल हुँदै सुदाम भिट्टा बगुवा हुकागाछी सम्मको सडकका लागि रु ४ करोड‚ ज्ञानकुञ्ज स्कुलदेखि लालडिगी कार्कीडाँडा हुँदै पेट्रोलपम्म सडकका लागि रु रु ३ करोड र पाडाजागी गौरीगञ्ज अल्ताबारी सडकका लागि रु २० करोड बिनियोजन भएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयले आगामी आर्थिक वर्षका लागि कुल १ खर्ब ५१ अर्ब रुपैयाँ बजेट पाएको हो । जस मध्ये  प्रधानमन्त्री ओलीको गृह जिल्ला तथा निर्वाचन क्षेत्र झापाले पूर्वाधार बजेटको ठुलो हिस्सा पाएको छ । विशेष कार्यक्रमबाहेक अन्य नियमित शीर्षकहरूबाट समेत झापामा बजेट थुपारिएको छ । रातो किताब अनुसार झापा जिल्लामा मात्रै सडक तथा पुल निर्माणका लागि विभिन्न १० वटा शीर्षकमा कुल ७ अर्ब ६१ करोड १६ लाख रुपैयाँ बराबरको बजेट विनियोजन भएको देखिन्छ ।

यसमध्ये ६९ करोड रुपैयाँ ‘दमक–गौरादह–गौरीगञ्ज लिंक कार्यक्रम’ का लागि हो । बाँकी ६ अर्ब ९२ करोड १६ लाख रुपैयाँ अन्य विभिन्न आयोजनामार्फत झापामा केन्द्रित गरिएको छ ।

सबैभन्दा ठुलो रकम पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–इनरुवा–पथलैया–नारायणघाट खण्डअन्तर्गत झापा जिल्लामा पर्ने सडकका लागि छुट्टाइएको छ, जसको बजेट ५ अर्ब २४ करोड ६९ लाख २२ हजार रुपैयाँ छ । यसैगरी, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत पनि झापाका सडकहरूका लागि १ अर्ब ३० करोड २७ लाख ६५ हजार रुपैयाँ विनियोजन गरिएको छ । निर्वाचन क्षेत्र रणनीतिक सडक र स्थानीय सडक पुल कार्यक्रममार्फत पनि करोडौँ रकम झापामा खन्याइएको छ ।

यस बाहेक काँग्रेस सभापती शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेलधुरा लिङ्क रोड कार्यक्रमका लागि रु ४८ करोड रुपैया रुपैया बिनियोजन भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्