दमक नगरपालिका भित्र का सामुदायिक विद्यालय हरुमा सञ्चालित बाल बिकास केन्द्रका बाल शिक्षिकाहरु न्यूनतम मासिक ज्याला १३ हजार ५ सय रुपैंया पाउने भएका छन बर्षौदेखि न्यून पारिश्रमिकका भरमा अध्यापन गराउँदै आएका दमकस्थित बाल बिकास केन्द्रका बाल शिक्षिकाहरुले बल्ल सरकारले तोकेको न्यूनतम ज्याला पाउने भएका छन ।
पछिल्लो समय हालै भएको नगर सभामा नगरका सबै सामुदायिक बिद्यालयमा सहयोगी कार्यकर्ताका रुपमा कार्यरत बाल शिक्षिकाहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन प्रस्ताव गरिएको थियो । सो सम्बन्धिको प्रस्ताव पारित भएसंगै हालै बसेको नगरपालिकाको बोर्ड बैठकले गत फागुन महिनादेखि नगरका सबै ( ३९ जना) बाल शिक्षिकालाई सरकारले तोकेको न्यूनतम ज्याला मासिक १३ हजार ५०० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाकी प्रवक्ता एवं शिक्षा समिति संयोजक गीता अधिकारीले जानकारी दिइन । यस अघि उनीहरुलाई सरकारले ६ हजार रुपैयाँ मासिक तलब तोकेको थियो भने नगरपालिकाले आन्तरिक श्रोतबाट थप गरी ९ हजार रुपैयाँ तलब उपलब्ध गराउँदै आएको थियो ।
नगरपालिकाका शिक्षा प्रमुख दिनेश न्यौपानेले नगरका २१ सामुदायिक बिद्यालयमा कूल ३९ वटा बाल बिकास केन्द्र सञ्चालनमा रहेका जानकारी दिए । हरेक बाल बिकास केन्द्रमा एक/एक जना बाल शिक्षिका कार्यरत छन । सरकारले सामुदायिक बिद्यालयप्रतिको आकर्षण बढाउन सानै उमेरदेखि सामुदायिक बिद्यालयप्रति विश्वास बढाउन बाल बिकास केन्द्रको अवधारणा ल्याएको थियो । लामो समयदेखि सामुदायिक बिद्यालयमा बाल बिकास कक्षामा भौतिक पूर्वाधार, सिकाई सामाग्री र जनशक्तिको बन्दोबस्ती नहुँदा सरकारको अवधारणा अनुसार लक्ष्य प्राप्ती हुन सकेको थिएन ।
निश्कर्ष न्युज बाट ।