पुस २८ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाको १२ औँ गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष फूलबती राजवँशीको अध्यक्षतामा बिहिबार गाउँपालिकाको सभाहलमा बसेको गाउँसभामा ४ करोड ४८ लाखको पुरक बजेट पारित भएको कुरा गाउँसभाका एक सदस्यले बताएका छन् ।

उद्घाटन सत्रमा गत असारमा बसेको ११ औँ गाउँसभामा पास भएको रु ४९ करोड बजेटमा केहि योजनाको रकमान्तर गरि पुरक बजेटका रुपमा थप रु ३ करोड ४५ लाखको प्रतिबेदन उपाध्यक्ष पुजन न्यौपाने कुँवरले प्रस्तुत गरेका थिए । यद्यपी बन्द सत्रमा सो प्रतिबेदन माथि छलफल भइ थप रु १ करोड ३ लाख थपेर करिब रु ४ करोड ४८ लाखको पुरक बजेट पारित भएको कुरा एक सदस्यले बताए ।

गाउँसभामा उपाध्यक्ष कुँवरले न्यायिक समितीको प्रतिबेदन समेत प्रस्तुत गरेको बुझिएको छ । प्रतिबेदन अनुसार नयाँ जनप्रतिनिधि आएपछी समितीमा ४८ वटा मुद्दाका उजुरि परेकोमा उपाध्यक्ष पुजन न्यौपाने कुँवरको सँयोजकत्वमा बनेको न्यायिक समितीले २७ वटा मुद्दाको किनारा लगाएको २ वटा मुद्दा अन्य निकायमा पठाएको र १९ वटा मुद्दा छलफलका क्रममा रहेको बुझिएको छ ।

गाउँसभा बिहान ११ बजे देखि नै शुरु हुने सुचना गरिएपनि फितलो ब्यवस्थापनका कारण दिउसो १ बजेतिर मात्र गाउँसभा शुरु भएको थियो ।