भदौ ६, धादिङ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी नजिकै त्रिशुली नदिमा खस्दा ८ जनाको मृत्यु भएको छ भने दर्जन बढि घाइते भएका छन् ।
प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ८ जनाको मृत्यु भएको कुरा एसपी गौतम मिश्रले जानकारी दिए।
मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। घाइते ८ जनाको उद्धार भएको छ। गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिसुरालले घाइते पाँच जनालाई काठमाडौं पठाइएको बताइन्।
‘गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको हो। बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ। घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ। गजुरी अस्पतालमा उपचार सम्भव नभएकालाई काठमाडौं पठाइएको छ,’ उनले भनिन्।
धादिङमा बुधबार भएको बस दुर्घटनापछि सशस्त्र प्रहरीले ४२ जनशक्ति परिचालन गरेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन सुरक्षा वेश आदमघाटबाट डीएसपीको कमाण्डमा १६ जना र बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिन्टारबाट डीएसपीको कमाण्डमा ८ जना गोताखोर सहित २६ जना सशस्त्र प्रहरिको फौज खटिएको जानकारी दिए ।