तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन्।

रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतको अन्तरले हराएका हुन्।

वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्।

तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्। आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो।

वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका छन्। दोस्रो स्थानमा रहेका भट्टराईले ३० प्रतिशत मत ल्याएका छन् भने खनालको मत प्रतिशत १३ छ।

त्यस्तै, चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले आफ्ना प्रतिस्पर्धीलाई १८ हजार ८ सय मतको फराकिलो अन्तरले पछाडि पारेका छन्।

पछिल्लो परिणामअनुसार लामिछानेले २४ हजार १ सय ३६ मत पाएका छन् भने उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ५ हजार ३ सय २१ मत ल्याएका छन्।

तेस्रो स्थानमा नेकपा एमालेका रामप्रसाद न्यौपानेले ४ हजार ७ सय ७२ मत पाएका छन्।

बारा क्षेत्र नम्बर २ मा भने जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले आफ्नो अग्रता कायम राखेका छन्। उनले जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ८ सय ७४ मतान्तरले पछि पारेका छन्।

पछिल्लो परिणामअनुसार यादवले ४ हजार ७ सय १७ मत प्राप्त गरेका छन् भने कुशवाहाले ३ हजार ८ सय ४३ मत पाएका छन्।

नेकपा एमालेका पुरूषोत्तम पौडेल १ हजार ९ सय ३७ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल ७५२ मतसहित चौथो स्थानमा छन्।