झापा । काम छाडेर जनप्रतिनिधि र कर्मचारीहरुले कार्यालयमै टिकटक बनाउन थालेपछि त्यस किसिमको विकृतिलाई प्रतिबन्ध लगाउन झापामा तयारी थालिएको छ ।
आजकल मनोरन्जनको माध्यम बनेको टिकटकप्रति आफ्नो जिम्मेवारी र मर्यादा बिर्सेर जनप्रतिनिधि र कर्मचारीहरु मस्त भएपछि त्यसलाई रोक्नका लागि कार्यालयमा टिकटक बनाउन प्रतिबन्ध लगाउने तयारी थालिएको हो ।
टिकटकले धेरै विकृति ल्याएपछि जिल्लाका कार्यालय प्रमुखहरुको बैठकमा टिकटकलाई प्रतिबन्ध लगाउने एजेन्डा नै लैजान लागिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनले नीति नै बनाएर टिकटकलाई प्रतिबन्ध लगाउन आबश्यक भएको बताए । ‘काम गर्न आएका कर्मचारीहरु टिकटक बनाउन लाग्दा समयको बर्बादीसंगै कार्यालयको गोपनीयता पनि भंग हुने खतरा छ’ उनले भने ।
गत स्थानीय तहको निर्वाचनको सेरोफेरोमा एक म्यादी प्रहरीले बर्दी लगाएर बनाएको एउटा भिडिओ टिकटकमा भाइरल भएको थियो । म्यादी प्रहरीमा भर्ना भएकी एक जना युवतीले टिकटकमा म्यादी प्रहरी पोशाकको दुरुपयोग गरेकी थिइन् ।‘सुरक्षा निकायका कर्मचारीहरु टिकटकप्रति अझ संवेदनशील हुनुपर्छ ’जिल्ला सुरक्षा समितिका प्रमुखसमेत रहेका प्रजिअ पोखरेलले भने,‘राष्ट्रसेवक कर्मचारीहरुले मनोरंजन गर्ने क्रममा सिंगो निकायको छवि बिगार्नु हुँदैन ।’
भर्खरै संचालनमा आएको बिर्तामोड नगर अस्पतालले अस्पतालभित्र आफ्ना कर्मचारीहरुलाई टिकटक बनाउन प्रतिबन्ध लगाइसकेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। सुनिल अधिकारीले सबै कर्मचारीलाई त्यसबारे सचेत गराएका छन् । नगर अस्पतालसंगै नगरपालिका कार्यालय र त्यस मातहतका सबै कार्यालयहरुमा अब टिकटक बनाउन प्रतिबन्ध लगाइने नगर प्रमुख पवित्रा महतारा प्रसाईले बताइन् ।यसअघि बिर्तामोडका केही कर्मचारीले आफ्नो र अरुको मर्यादाको ख्याल नराखी टिकटक बनाउने र फेसबुकमा भिडियो हाल्ने गरेको बताउँदै उनले त्यस किसिमको क्रियाकलाप अब गर्न नपाउनेगरी निर्णय पारित गरिने जानकारी दिइन् । स्थानीय तहका कर्मचारीसंगै जनप्रतिनिधिहरुले समेत कार्यालयमा टिकटक बनाउने गरेका छन् ।
(जनसाँसद दैनिक बाट )