विमर्श उप्रेती
धुलावारी । मेचीनगर-९ मागुरमाडीकी २० वर्षीया किशोरी आशा लिम्बू तीन दिनदेखि बेपत्ता भएकी छन् ।
स्थानीय कविशिरोमणि माविमा गएको मंगलबार सरस्वती पूजामा सहभागी भएर निस्किएपछि दिउँसोबाट उनी परिवारसँग सम्पर्कविहीन भएको दाजु मिलन लिम्बूले बताए । ‘पूजा गर्न भन्दै बिहान स्कूल गएकी थिइन्, १० बजेतिर साथीहरुसँगै घर आएर खाना खाएपछि फेरि स्कूलतिरै गइन्’ उनले भने, ‘११ बजेतिर उनलाई एक अपरिचित व्यक्तिले कल गरेको कुरा उनका साथीहरुले सुनाए ।’
आशाका साथीहरुको भनाई उदृत गर्दै उनी भन्छन्, ‘फोन गर्ने केटा मान्छे थिए, हामीले चिनेनौँ, उनले आशालाई धुलाबारी मोडतिर बोलाउँदै थिए, त्यसपछि उनी २ बजेतिर सिटी सफारी चढेर गइन् ।’
मेचीनगर-९ स्थित हरि आधारभूत विद्यालय नजिकै घर भएकी आशा कविशिरोमणि माविको कक्षा ११ मा पढ्ने विद्यार्थी हुन् । आमा द्रोपदाका अनुसार बेपत्ता भएकी ती किशोरीको मानसिक अवस्था कमजोर रहेको छ । आमा द्रोपदाले भनिन्, ‘उनको बोली तोते छ, जोसुकैसँग छिट्टै घुलमिल हुने बानी छ, ललाइफकाई गर्दा जता भन्यो त्यतै हिँड्छिन् ।’
५ फुट २ इञ्च उचाइ भएकी, गहुँ गोरो वणर्की उनले परिवारसँग सम्पर्कविहीन हुनुअघि कालो जिन्स पाइन्ट, कालो बुट (जुत्ता), कालो धर्का भएको सेतो टि-सर्ट, गलामा १ तोलाको सुनको सिक्री र कालो धागोले उनेको बुट्टी लगाएकी आमा द्रोपदाको भनाई छ ।
बेपत्ता भएकी आशाको खोजीका लागि माइती नेपाल काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीमा निवेदन दिइएको बताउँदै दाजु मिलनले खोजी कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।