चैत ६ डोटी । सरकारले सार्वजनिक गरेको शहीदको सूचीमा जीवित व्यक्तिको पनि नाम समावेश भएको पाइएको छ ।

डोटीको बडीकेदार गाउँपालिका-२ (साविकको बछैन गाउँ विकास समिति-८) का ५९ वर्षीय चक्रबहादुर मटेलीको नाम शहीदहरुको सूचीमा परेको छ । जीवित मटेलीले शहीदको सूचीमा आफ्नो नाम परेको भन्दै आश्चर्यमा परेका छन् ।

फागुन १५ गते सशस्त्र विद्रोहका क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई सम्मान स्वरूप शहीद घोषणा गर्ने सरकारले निर्णय गरेको थियो ।

सोही अनुरूप फागुन २९ गते राज पत्रमा प्रकाशित डोटी जिल्लाबाट शहीद घोषणा गरिएका ६३ जना मध्ये मटेलीको नाम ४२ औँ नम्बरमा रहेको छ ।

सरकारले उनलाई २०५९ साल वैशाख १९ गते मृत्यु भई शहीद घोषणा गरिदिएको छ । राजपत्रमा २०५९ साल वैशाख १९ गते मटेलीको मृत्यु भएको उल्लेख छ।

मटेली २०५९ साल वैशाख १९ गते बर्छेनको छेडामा तत्कालीन शाही नेपाली सेनाले गरेको आक्रमणमा परी घाइते भएका थिए । उनको घाँटी, मुख र पाखुरामा गोली लागेको थियो। तर उनि मारिएको भन्दै सरकारले शाहीदको सूचीमा नाम राखेको हो।

सरकारले आफूलाई जिउँदो शहीद बनाएकोमा कुनै गुनासो नरहेको मटेली बताउँछन् । उनी भन्छन् ‘आफू मृत्यु तुल्य अवस्थामा रहेका कारण यसमा कुनै गुनासो छैन, म मरे सरह नै छु शरीरको ३ ठाउँमा गोली लागेको मान्छे, हातखुट्टा चल्दैन, श्वास मात्रै बाँकी छ ।’