बिनिता निरौला ।
जेठ २८, गौरादह/ किसानले लगाएको चैते धानकाे मूल्य दिनप्रतिदिन ओरालाे झरिरहेकाे छ। पाकेकाे सुरुवाती समयमा प्रतिमन ७ सयका दरले बिकेकाे चैते धान अहिले ५ सय ६० मा मुस्किलले बिकिरहेकाे छ। केही ब्यापारीहरुले धान किन्न मानिरहेका छैनन्। ठुला सेलर मिलले सहज रुपमा धान नलिएकाे भन्दै ब्यापारीहरुले धान किन्न नमान्दा धानकाे मूल्य घटेकाे ब्यापारी बताउँछन्। फाट्टफुट्ट रुपमा किसानले धान निकाल्दा धानकाे मूल्य उच्च भएपनि अधिकांश किसानकाे धान पाकेपछि मूल्य घटेकाे छ। किसानकाे धान खेतमा हुँदा मुल्य उच्च राख्ने ब्यापारी सबै किसानकाे धान पाक्नसाथ मूल्य घटाएका छन् ।
किसानकाे धान खेतमा पाकेर पहेलाे भएपनि धानकाे मूल्य घटेकाले धान काट्न किसानपनि आनाकानी गरिरहेका छन। धान पाकेर पहेँलो भएपछि किसान धानकाे भाउ काट्न ब्यापारीकाे काँटामा धाइरहेका छन।आफुले लगाएकाे बाली सस्तोमा बेच्ने किसानलाई मन छैन।धानकाे मूल्य केही रुपैयाँ भएपनि बढी लिने उदेश्यले एउटै किसान धेरै काँटामा धानकाे दर बुझ्न हिडिरहेका छन। कृषि उपजले मूल्य नपाउने हाेभने खेतीबाट किसान पलायन हुने अवस्था सृजना हुन सक्छ।धानकाे मूल्य साेध्दा ब्यापारीले भुसकाे मूल्य बराबरको बताउँछन्।अहिले भुस प्रति मन ५ सय २० मा बिकी भइरहेकाे छ भने धान ५ सय ६० मा किनिरहेका छन।धान र भुसकाे मूल्य बराबरी जस्ताे भएकाे छ।
धानकाे उचित मूल्य निर्धारण गरिनु पर्ने किसानकाे माग छ।खाद्यान्न बालिका रुपमा प्रयोग गरिने धानकाे कम्तीमा किसानले लागत मुल्य पाउनु पर्ने र बजारीकरण हुनु पर्ने किसानको भनाइ छ। कम्पनीबाट उत्पादित सबै समानकाे मूल्य बढेर आकाशिएकाे छ। किसानले उत्पादन गर्ने सामग्रीकाे मूल्य भने दिनैपिछे अाेरालाे लागिरहेकाे छ। किसानहरु ठुला सेलर मिल सम्म पुगेर धान बिक्री गर्न नसकेकाले स्थानीय ब्यापारीले सेलर मिल सँग समन्वय गरेर मूल्य घटाएकाे किसानहरुले आशंका गरेका छन। धान ब्यापारीले धान बिक्री गर्न आउने किसान सँग मनाेमानी भाउ दिने गरेकाे किसान गौरादह -२ का किसान दुर्गा दाहाल बताउँछन्। भदै धान खेतमा पाकेपनि सेलर मिलले धान किन्न आनाकानी गरेकाले धानले मूल्य नपाएकाे गौरादहमा धान काँटा गरेर बसेका ब्यापारी असाेक चुडाल बताउँछन्। किसानले उत्पादन गरेकाे बालिलाई उचित मुल्यमा खरिद गर्ने मन हुँदाहुँदै पनि आफुले बिक्री गर्ने सेलर मिलले धान सहज रुपमा नलिएपछि किसानलाई उचित मूल्य दिन नसकेकाे चुडाल बताउँछन्। धान राेप्ने समयमा रासायनिक मल र बीउ नपाएर हैरान भएका किसान धान बिक्री गर्ने समयमा पनि निराश भएका छन।आफुले लगाएकाे बाली पाकेर आँगनमा ल्याएपछि किसानले अगाडि गरेकाे सम्पुर्ण दु:ख बिर्सने समय हाे।घामपानी सहेर कष्ट गरि बाली लगाउदा भएकाे दु:ख बिर्सने समयमा किसानलाई धान नबिकेर अर्काे पीडा थपिएकाे छ। धानकाे उचित मूल्य नभएर किसान मारमा परेकाे समयमा तिनै तहका सरकार मौन छन।किसानले धान उत्पादन गरेपनि राज्यले धानकाे न्युनतम मूल्य पनि ताेकेकाे छैन।किसानकाे उद्वारका लागि राज्य उदासिन बन्दा ब्यापारीले मनाेमानी ढंगले धान किनिरहेका छन। किसानलाई उद्वार गर्न र उनीहरुको पक्षमा कसैले पनि आवाज नउठाएकाे गौरादह -७ का किसान युबराज चुडाल बताउँछन्।