जेठ ७, विराटनगर । विराटनगर–११ नयाँ गुद्री नजिक भाडामा होटल सञ्चालन गरेका एक व्यक्ति आगो लगाएर फरार भएका छन् ।बेनुकुमार कार्कीको भुँई तला भाडामा लिएर होटल सञ्चालन गर्दै आएका झापा गौरादहका नेत्रप्रसाद निरौलाले बिहान २ः३० बजे आगो लगाएर फरार भएका हुन् ।
पसलमा आगो लगाएका उनले घरधनीको गेटमा समेत ताला लगाएर फरार भएपछि उनले नियतबस आगो लगाएर फरार भएको देखिएको छ । घरधनी कार्कीको घरमा तीनवर्ष अगाडीदेखि निरौला दम्पती त्यहाँ होटल सञ्चालन गर्दै आएका थिए । पछिल्लो तीन महिनायता भाडा दिएका थिएनन् । तीन दिन अगाडी कार्कीले भाडा मागेका थिए । अचानक बिहान होटलको आधा सटर खुल्ला रहेको अवस्थामा आगलागी भएका थियो ।
पसलमा आगलागी हुँदा उनीहरु त्यहाँ थिएनन् । उनीहरु सुत्ने कोठामा ताला लगाइएको थियो । घरधनीलाई थाहा भएपछि निस्कन खोज्दा मुलगेटमा समेत ताला लगाइएको थियो । त्यसपछि छिमेकीले फुटाएर घरधनी र अन्य भाडामा बस्नेहरुको उद्धार गरिएको थियो ।

झापा गौरादहका निरौला दम्पती अहिले सम्पर्कविहीन रहेका छन् । उनीहरुको फेसबुक पेज समेत डिएक्टिभ गरिएको छ । होटल सञ्चालन गर्दा माछा र मासु पसलबाट लिएको उधारो समेत नबुझाएको खुलेको छ ।
हामी सुतिरहेका थियौं, आगो लागेको थाहा पाएपछि हतार–हतार उठ्यौं’ घरधनी कार्की परिवारले भने–बुझाउन बाँकी भाडा थियो, सबैलाई आगो लगाएर मार्ने नियत देखियो । झण्डै ८–१० जनाको ज्यान लिने नियत देखिएको भन्दै स्थानीयले तत्काल नियन्त्रणमा लिएर कारवाहीको माग गरेका छन् । होटलका सामान जलेका छन् ।
सामान समेत छोडेर उनीहरु भागेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।