भदौ १९ गौरीगञ्ज । चालु आर्थिक बर्ष शुरु भएदेखि नै गौरीगञ्ज गाउँपालिकाले जनताको ढाड सेकिने गरि लागु गरेको अस्वभाबिक मालपोत शुल्क घटाएको छ । आम जनताहरुबाट ब्यापक बिरोध भएपछी गौरीगञ्ज गाउँपालिकाले आज बिशेष गाउँसभा आयोजना गरि मालपोत लगायतका कर हरु घटाएको हो ।

आम जनताहरुबाट ब्यापक गुनासो आएपछी मालपोत लगायतका केहि करहरु साबिकको दरमा झारिएको कुरा गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरले बताएकी छन् । बिशेष गाउँसभाले अनुमोदन गरेको नयाँ मालपोत दर अनुसार अब १ बिघा १० कट्ठा क्षेत्रफल सम्म कृषि र ग्रामिण आवास क्षेत्रमा रु २० प्रति कट्ठा र बजार आवास क्षेत्र र ब्यावशायिक औद्योगिक क्षेत्रमा रु ३० प्रति कट्ठा मालपोत शुल्क निर्धारण गरिएको छ । त्यसै गरि १ बिघा १० कट्टा देखि माथि क्षेत्रफल हुने कृषि र ग्रामिण आवास क्षेत्रको रु ३० प्रति कट्ठा र बजार आवास क्षेत्र तथा ब्यावशायिक र औद्योगिक क्षेत्रको रु ६० प्रति कट्ठा मालपोत दर कायम गरिएको छ । त्यसैगरि घडेरी तर्फ साबिक गौरीगञ्ज गाबिसको ५ ६ र ७ मा प्रति कट्ठा रु ५० कायम गरिएको छ भने साबिक खजुरगाछी गाबिसको वडा नँ ५ ६ र ८ मा प्रतिकट्ठा रु ५० कायम गरिएको छ ।


यो सँगै बिशेष गाउँसभाले एरिया निकासी लगायतका करहरु गत बर्षकै साबिक दरमा झारेको छ भने एम्बुलेन्स लगायतको शुल्क समेत घटाएको कुरा गौरीगञ्ज गाउँपालिकाले जनाएको छ ।
बिशेष गाउँसभाले अनुमोदन गरि घटाएको नया करहरु केहि दिन पछी सार्वजनिक गरि लागु गरिने कुरा बुझिएको छ ।
यस अघि गत असारमा सम्पन्न भएको १३ औ गाउँसभा ले पुर्ण बजेट नै पास नगरि नियम बिपरित अध्यक्ष फुलबती राजवँशीले अधिबेशन अन्य गरेपछी अबैधानिक रुपमा मालपोत शुल्क ७ सय प्रतिशत सम्म बृद्धि गरिएको थियो भने एरिया निकासी लगायतका करहरुमा समेत अस्वभाबिक बृद्धि गरिएको थियो । गाउँपालिकाले मालपोत लगायतक शुल्कहरु अस्वभाबिक बृद्धि गरेपछी काँग्रेस एमाले माओबादी र राप्रपा लगायतका राजनैतिक दलहरुले ध्यानाकर्षण पत्र बुझाएका थिए भने उद्योग बाणिज्य सँघ गौरीगञ्जले आन्दोलन नै शुरु गरेको थियो ।