
यस पटकको एसइइ परीक्षामा झापाको गौरीगञ्ज गाउँपालिका भित्रका सामुदायिक बिद्यालयहरुले अत्यन्तै कमजोर नतिजा ल्याएका छन् । पालिका भित्रका ४ सामुदायिक बिद्यालयहरुबाट परीक्षामा सहभागि २ सय ९३ बिद्यार्थी मध्ये जम्मा २८ जना बिद्यार्थी मात्र पास भएका छन् ।

शिक्षा शाखा गौरीगञ्जले दिएको जानकारी अनुसार गौरीगञ्ज गाउँपालिका भित्रका सामुदायिक बिद्यालय मध्ये गौरीगञ्ज माबिले यस पटकको एसइइ परिक्षामा सबै भन्दा कमजोर नतिजा ल्याएको छ । गौरीगञ्जको सबै भन्दा पुरानो बिद्यालय गौरीगञ्ज माबि बाट यस पटकको एसइइ परीक्षामा सहभागी १ सय ५ बिद्यार्थी मध्ये जम्मा ५ जना मात्र पास भएका छन् । प्रतिशतको हिसाब गर्ने हो भने बिद्यालयले ४ दशमलब ८५ प्रतिशत बिद्यार्थी मात्र पास गराउन सफल भएको देखिन्छ । बिद्यालयबाट प्राबिधिक धार तर्फ ४० जना र अप्राबिधिक धार तर्फ ६५ जना बिद्यार्थी परीक्षामा सहभागि भएका थिए । जसमध्ये प्राबिधिक धार तर्फ २ जना र अप्राबिधिक धार तर्फ ३ जना मात्र पस भएका छन् ।
गाउँपालिका भित्र सञ्चालित ४ वटा सामुदायिक बिद्यालय मध्ये प्रातिशतको हिसाबले सबै भन्दा राम्रो नतिजा कुञ्जीबारी स्थित बाल कल्याण माबिले ल्याएको छ । सो बिद्यालयबाट परीक्षामा सहभागि जम्मा ६७ बिद्यार्थी मध्ये ११ जना बिद्यार्थी पास भएका छन् भने बिद्यालयले १६ दशमलब ४१ प्रतिशत नतिजा ल्याउन सफल भएको छ । त्यसै गरि खजुरगाछी माबिबाट परीक्षामा सहभागी ६५ बिद्यार्थी मध्ये ९ जना बिद्यार्थी पास भएका छन् भने बिद्यालयले १३ दशमलब ८४ प्रतिशत नतिजा ल्याउन सफल भएको छ । जीपीएको हिसाब गर्ने हो भने सामुदायिक बिद्यालयका बिद्यार्थी मध्ये सबै भन्दा बढी ३ दशमलब ५१ जीपिए ल्याइ यस बिद्यालयकी क्षात्रा पार्वती हास्दा उतिर्ण भएकी छन् । त्यसै गरि कोरोबारी स्थित आदर्श माबि ले ५ दशमलब १७ प्रतिशत मात्र नतिजा ल्याउन सफल भएको छ । बिद्यालयबाट परीक्षामा सहभागि ५८ जना मध्ये ३ जना मात्र पास भएका छन् ।
त्यसै गरि पालिका भित्रका ७ वटा बोर्डिङ स्कुलहरु बाट परीक्षामा सहभागि १ सय ९१ बिद्यार्थी मध्ये ११२ जना अर्थात ५८ दशमलब ६४ प्रतिशत बिद्यार्थी पास भएका छन् ।
बोर्डिङ स्कुलहरु तर्फ ज्ञानोदय आबासिय माबिले सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन भएका छन् । बिद्यालयबाट परीक्षामा सहभागी २३ बिद्यार्थी मध्ये २२ जना अर्थात ९५ दशमलब ६५ प्रतिशत बिद्यार्थी पास भएका छन् भने कुञ्जिबारी स्थित न्यु युनिभर्सल एकेडेमी बाट परीक्षामा सहभागि १९ बिद्यार्थी मध्ये १५ बिद्यार्थी अर्थात ७८ प्रतिशत बिद्यार्थी पास भएका छन्
त्यसै गरि खजुरगाछीको देबकोटा माबिबाट सहभागि ३३ जना बिद्यार्थी मध्ये २४ जना अर्थात ७२ दशमलब ७३ प्रतिशत पास भएका छन् । भने गौरीगञ्जको स्नो ह्वाइट स्कुलबाट सहभागि २० जना बिद्यार्थी मध्ये १२ जना अर्थात ६० प्रतिशत बिद्यार्थी पास भएका छन् ।
यता ज्ञानकुत्र्ज एकेडेमी बाट परीक्षामा सहभागि ४८ बिद्यार्थी मध्ये २७ जना अर्थात ५६ दशमलब २५ प्रतिशत बिद्यार्थी पास भएका छन् भने खजुरगाछी स्थित युनिभर्सल एकेडेमी बाट सहभागि २२ जना बिद्यार्थी मध्ये ६ जना अर्थात २७ प्रतिशत बिद्यार्थी मात्र पास भएका छन् । त्यसै गरि मुनलाइट एकेडेमी खजुरगाछी बाट परीक्षामा सहभागि २६ जना बिद्यार्थी मध्ये ६ जना अर्थात २३ प्रतिशत बिद्यार्थी मात्र पास भएका छन् ।
गौरीगञ्जका बोर्डिङ स्कुलहरुले ५८ दशमलब ६४ प्रतिशत नतिजा ल्याउन सफल भएपनि यहाका सामुदायिक बिद्यालयहरुले ल्याएको ९ दशमलब ५६ प्रतिशत नतिजालाइ सन्तोष जनक मान्न सकिदैन ।
यस पटक गौरीगञ्जका सामुदायिक बिद्यालयहरुले ल्याएको एसइइ नतिजाले गौरीगञ्जका सामुदायिक प्लस टुहरुको भबिष्य अन्धकारमयी बनाइदिएको छ । यस नतिजाले गौरीगञ्जका सामुदायिक बिद्यालयहरुमा अध्ययन गर्ने बिद्यार्थीलाइ क्षात्रबृति दिएर निशुल्क पढाउने गाउँपालिकाको निर्णयलाइ चुनौती दिएको छ ।