असार ३०, गौरीगञ्ज । महालेखा परीक्षकको कार्यालयले गएको आर्थिक वर्ष २०७७/०७८ को बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । जस अनुसार गौरीगञ्ज गाउँपालिका को गत आव को बेरुजु रकम ८ करोड ६१ लाख २६ हजार देखिएको छ । यो झापा जिल्ला कै पालिका हरु मध्ये प्रतिशतको हिसाबले दोश्रो सबै भन्दा धेरै बेरुजु रकम हो । प्रतिवेदन अनुसार प्रतिशत को हिसाबले झापा जिल्ला कै सबै भन्दा धेरै बेरुजु रकम हुने पालिका बुद्ध शान्ति गाउँपालिका हो । यो गाउँपालिका को बेरुजु रकम १० करोड ३० लाख ८७ हजार रहेको देखिन्छ ।
गत आर्थिक बर्ष २०७७/०७८ मा झापामा एक अर्ब ३१ करोड ५७ लाख ११ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधवार सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा जिल्लाका १५ वटा पालिकाको कुल लेखा परीक्षक रकम २७ अर्ब ८१ करोड १४ लाख ८९ हजार (आम्दानी र खर्च) मध्ये ४ दशमलव ७३ प्रतिशत रकम बेरुजु देखिएको हो । जिल्लाको १५ वटा पालिकामध्ये सबैभन्दा बढी बेरुजु बुद्धशान्ति गाउँपालिकामा ७ दशमलव ५० प्रतिशत, गौरीगञ्ज गाउँपालिकामा ७ दशमलव ४९ प्रतिशत र बिर्तामोड नगरपालिकामा ६ दशमलव २३ प्रतिशत देखिएको छ ।
बुद्धशान्तिको लेखा परीक्षक रकम एक अर्ब ३७ करोड ४९ लाख ९६ हजार रकममध्ये १० करोड ३० लाख ८७ हजार, गौरीगञ्जको एक अर्ब १४ करोड ९४ लाख ३५ हजारमध्ये ८ करोड ६१ लाख २६ हजार र बिर्तामोडको दुई अर्ब ९० करोड ६० लाख ३१ हजारमध्ये १८ करोड ११ लाख ९१ हजार रकम बेरुजु देखिएको हो । त्यस्तै कचनकवल गाउँपालिकाको एक अर्ब १४ करोड १९ लाख ६५ हजारमध्ये ७ करोड ८ लाख ८७ हजार (६.२१), शिवसताक्षी नगरपालिकाको दुई अर्ब ५ करोड ३२ लाख ४९ हजारमध्ये १२ करोड ३४ लाख २३ हजार (६.०१), मेचीनगर नगरपालिकाको ३ अर्ब ५० करोड ३९ लाख २ हजारमध्ये २० करोड ५५ रुपैयाँ (५.७१) र बाह्रदशी गाउँपालिकाको एक अर्ब ९ करोड ५२ लाख ५३ हजारमध्ये ५ करोड ७७ लाख ५ हजार (५.२७) प्रतिशत रकम बेरुजु देखिएको छ । त्यसैगरी कनकाई नगरपालिकाको एक अर्ब ७० करोड ६१ लाख २१ हजारमध्ये ७ करोड ९३ लाख ५ हजार (४.६५), कमल गाउँपालिकाको एक अर्ब ६१ करोड ४ लाख ८६ हजारमध्ये ६ करोड ८८ लाख ४२ हजार (४.२७), अर्जुनधारा नगरपालिकाको एक अर्ब ७६ करोड ८० लाख ९५ हजारमध्ये ७ करोड १३ लाख ४६ हजार (४.०४) प्रतिशत बेरुजु देखिएको छ ।
त्यस्तै भद्रपुर नगरपालिकाको एक अर्ब ९४ करोड १५ लाख ६८ हजारमध्ये ६ करोड ६७ लाख ३८ हजार (३.४४), गौरादह नगरपालिकाको एक अर्ब ९६ करोड २ लाख ७७ हजारमध्ये ६ करोड २३ लाख ५२ हजार (३.१८), झापा गाउँपालिकाको एक अर्ब ११ करोड ९२ लाख एक सयमध्ये ३ करोड ५५ लाख ५५ हजार (३.१८), दमक नगरपालिकाको ३ अर्ब ३० करोड ८६ लाख १२ हजारमध्ये ८ करोड ३४ लाख १४ हजार (२.५२) र हल्दिबारी गाउँपालिकाको एक अर्ब १७ करोड २२ लाख ९८ हजारमध्ये २ करोड ५६ लाख ८५ हजार (२.१९) प्रतिशत रकम बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार कानुन बमोजिम रित नपुर्याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोबार गरेको खण्डमा गरिएको कारोबारलाई महालेखाले बेरुजु देखाउने गरेको छ ।