गौरीगञ्जमा १९६६ हेक्टर धानबालीमा क्षति : सरकारद्वारा ६५ प्रतिशत सम्म राहत दिने निर्णय

पढ्न समय: 2 मिनेट

कार्तिक १२, गौरीगञ्ज । दशै लगतै परेको बेमौसमी अबिरल वर्षाका कारण गौरीगञ्जमस १ हजार ९ सय ६६ हेक्टर क्षेत्रफलमा लगाएको धानबाली मा क्षति पुगेको कुरा कृषि शाखा गौरीगञ्जले जनाएको छ । सो झरिले ६.४ हेक्टरमा लगाइएको तरकारी बालीमा समेत क्षति गरेको कुरा शाखाले बताएको छ ।

गौरीगञ्जका ६ बाटै वडाहरु बाट सँकलन भएको तथ्याङ्क अनुसार वडा नँ १ मा ५ सय ९४ हेक्टर, वडा नँ २ मा ५ सय ६० हेक्टर, वडा नं ३ मा २ सय ३४ हेक्टर, वडा नँ ४ मा २ सय ३० हेक्टर, वडा नँ ५ मा २ सय १४ हेक्टर र वडा नँ ६ मा १ सय ३४ हेक्टर धानबालीमा क्षति भएको हो । त्यसैगरी वडा नँ २ मा ५ हेक्टर र वडा नँ ६ मा १.४ हेक्टर तरकारी बालीमा क्षति भएको हो ।

पशुपालन तर्फ सो अबिरल झरिले गौरीगञ्जको १ हेक्टर जलासयमा पालेको माछा र १ हजार वटा कुखुराको चल्ला नष्ट भएको कुरा कृषि शाखा गौरीगञ्जले जनाएको छ ।

उता सरकारले वर्षाका कारण धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको क्षेत्रफलका आधारमा साना, मध्यम र ठूला किसान वर्गीकरण गरी २० देखि ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बढीमा १० कट्ठासम्म वा सो बराबरको जग्गामा लगाएको धानको पूर्ण क्षति बेहोरेका किसानलाई क्षतिको अधिकतम ६५ प्रतिशतसम्म क्षतिपूर्ति दिने निर्णय गरेको जानकारी दिए ।

उनका अनुसार मध्यम किसान (१० कठ्ठादेखि तीन बिघा वा सो बराबरको जग्गा) मा क्षति बेहोरेका किसानलाई ३० प्रतिशत र तीन बिघाभन्दा बढी वा आंशिक क्षति भएकाको हकमा अधिकतम २० प्रतिशत राहत दिने निर्णय गरेको छ ।

उनले नेपाल सरकारबाट न्यूनतम समर्थन मूल्य निर्धारण गरी उक्त राहत दिइने पनि जानकारी गराए । त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल बनउने र उक्त कार्यदलले पाँच दिनभित्र कार्यविधि बनाई स्वीकृ्तिका लागि पेश गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्