बैशाख ११ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाको वडा नँ २ मा बिपन्न सन्थाल परिवारका लागि सञ्चालन गरिएको सुरक्षित आवास कार्यक्रममा हुनेखाने परिवारहरुले घर पाएको खुलासा भएको छ ।
वडा कार्यालयले सार्वजनिक सुचना जारि गरेर निशुल्क घरका लागि बिपन्न परिवारहरुबाट निवेदन माग गर्नु पर्नेमा सुचना नै जारी नगरि गुपचुप रुपमा वडा समितीका सदस्यहरुले आफु निकटका ब्यक्तीहरु छनौट गरेपछी सो रहस्य बाहिरिएको हो । बिपन्न परिवारहरुका लागि निशुल्क आएको घर वडा कार्यालयले एक बिघा भन्दा बढि जग्गा हुने हरुलाइ दिने भएपछी सो निर्णय बिरुद्ध वडा कार्यालयमा बैशाख ४ गते ३९ जना स्थानिय सन्थाल समुदायका ब्यक्तीहरुले असन्तुष्टी पत्र दर्ता गराएका थिए भने सोहराय पर्वको खर्च भुक्तानी नगरेको भनि वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
स्थानियहरुले वडामा पेस गरेको पत्र अनुसार १ बिघा देखि अढाइ बिघा जग्गा हुनेहरुको नाम समेत लिस्टमा भएको तर बास्तबिक बिपन्न परिवारहरु लिस्टमा छुटेकोले बास्तबिक बिपन्न परिवारले सो घरहरु पाउनु पर्ने माग गरिएको छ ।


रु १ करोड ६० लाखको लागतमा ३२ वटा घर बनाउन ठेक्का लागि सक्दा समेत वडा कार्यालयले अझ ७ जनाको नाम नै छनौट नगरेको श्रोतले जनाएको छ । घर बनाउने ठेक्का लागेर ठेकेदारले काम सुरु गर्दा समेत वडा कार्यालयले गौरीगञ्ज गाउँपालिकाको निर्देशनमा सुचना लुकाइरहेको पाइएको छ । हिजो सोमबार गौरीगञ्ज दर्पणले वडा कार्यालयमा बिपन्न सन्थाल परिकारको नाम छनौट गर्दाको वडा समिती बैठकको निर्णयको सुचना माग गर्दै निवेदन दिएको थियो भने वडा सचिब बौवा बिकले गाउँपालिका अधिकृतले वडा बाट सुचना निदिनु भन्ने निर्देशन आएकाले सुचना दिन नमिल्ने जवाफ दिएका थिए । वडाबाट सुचना प्राप्त नभएपछी गौरीगञ्ज दर्पणले गाउँपालिका कार्यालयमा नै सुचनाका लागि निवेदन दर्ता गराएको छ । वडा कार्यालय र गाउँपालिकाले नै सुचना लुकाउन थालेपछी बिपन्न परिवारको सुची छनौटमा वडा र पालिकाको बदनियत प्रस्ट भएको छ ।
श्रोतले दिएको जानकारी अनुसार बिपन्नहरुको नामावली छनौटका लागि वडाध्यक्ष किनालाल राजवँशीको उपस्थिती बिनै बैटक बसेर वडा सदस्यहरुले ३२ जना छनौट गरेको र पछी वडाध्यक्षलाइ सो सुची मन नपरेपछी ७ जनाको नाम हटाएको बुझिएको छ । सो खाली रहेका ७ जनाको नाम अहिले सम्म छनौट भएको छैन । वडाको सो बिबाद मिलाउन वडा मै पुगि गाउँपालिका अध्यक्ष फुलबती राजवँशी र प्रमुख प्रसाशकीय अधिकृत खेम थापाले समेत भुमिका खेलेको श्रोतले बताएको छ ।
घर पाउनेहरुको सुचीमा अढाइ बिघा जमिन हुने सजिलो किस्कु २ बिघा जमिन हुने सुरुजमणी मर्डी डेढ बिघा जमिन हुने एतुवारी टुडु र डेढ बिघा जमिन हुने लालु मर्मुको नाम घर पाउनेको सुचीमा रहेको र उनिहरुको घर बन्न समेत शुरु भइसकेको श्रोतले जनाएको छ । तर यिनीहरुकै नजिकै बसोबास भएका अति बिपन्न बर्षा हास्दा र मदन हास्दाले निशुल्क घर नपाएको उनिहरुले गुनासो गरेका छन् ।
निशुल्क घर पाउनेहरुको घर बनाउन शुरु भइसकेपनि क कस्ले घर पाएका छन् भनेर हाल सम्म पनि न त सुचना जारि गरिएको छ न त सुची नै सार्वजनिक गरिएको छ । हिजो सोमबार असन्तुष्ट पक्षसँग भएको छलफलमा घर बनरने काम शुरु भइसकेकाले सुचीमा भएका २५ जनाको घरको काम नरोक्ने र बाकी ७ जना खाली रहेको सुचीमा बिपन्न परिवारहरुलाइ अटाउने सहमती भएको कुरा वडाध्यक्ष किनालाल राजवँशीले जनाएको छ ।
बिपन्नहरुका लागि आएको घर बिघा भन्दा धेर जग्गा हुने लाइ किन बितरण गरिएको भन्ने प्रश्नमा वडाध्यक्षले वडा सँग उनिहरुको जग्गाको रेकर्ड नभएकाले त्यसो हुन गएको भन्दै पन्छीन खोजेका छन् भने सुचना न निकाली सुची तयार गरेको कुरा उनले स्विकार गरेका छन् ।