माघ २३, गौरीगञ्ज । प्रधानमन्त्री केपि शर्मा ओलीले असँबैधानिक तबरले साँसद विघटन गरेको विरोधमा जनता समाज पार्टी झापाले शुक्रबार गौरीगंजमा विरोध प्रदर्शन गरेको छ ।
ओलीले गरेको संसद विघटनको असंवैधानिक कदमको खारेजीको माग गर्दै जनता समाज पार्टी झापाले विरोध प्रदर्शन गरेको हो । केपि सरकार मुर्दाबाद, संसद पुनस्र्थापना गर, असंवैधानिक कदम खारेज गर, सम्पूर्ण लोकतन्त्रवादीहरू एक हौँ, लगायतका नारा सहित जुलुस प्रदर्शन गरिएको थियो ।
दिउँसो करिब १ बजे वडा नं. ६ खजुरगाछी बजारबाट नारावाजी गर्दै शुरु भएको जुलुस गौरीगंज बजार परिक्रमा गरी गौरीगंज चोकमा कोणसभामा परिणत भएको थियो ।
जनता समाज पार्टीका जिल्ला अध्यक्ष दिपेन वाला राईले संविधान र लोकतन्त्र रक्षाका लागि सबै लोकतन्त्रवादीहरूले केपी ओलीको संसद विघटनको असंवैधानिक कदमको विरोध गर्नु पर्ने धारणा राखे । ‘केपी शर्मा ओलीलाई दुईतिहाइको मत दिएर ५ वर्षका लागि जनताले जिताएकोमा ओलीले जनताको मतको कदर नगरी संवैधानमाथि नै ‘कु’ गरेर देश र जनतालाई अन्धकारतिर धकेलेका कुरा उनले बताए ।
जिल्ला अध्यक्षद्वय दिपेनवाला राई र अनुतसिंंह राजवंशीको अध्यक्षतामा भएको विरोध सभामा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सूर्यनारायण गणेशले केपी ओलीले आफ्नो व्यक्तिगत स्वार्थका लागि संसद विघटन गरेको भन्दै त्यसलाई विफल बनाउन सबै नेपाली जनताले त्यसको प्रतिकार गर्नु पर्ने बताए तथा आदिवासी जनजाति, पिछडा वर्ग, मधेशी मुस्लिमका अधिकारहरू यो संविधानले सुरक्षित गरेको हुनाले संविधानलाई रक्षा गर्न आवश्यक रहेको बताए । विरोध सभामा केन्द्रीय सदस्यहरू शंकर राजवंशी, राधा थापा, प्रदेश कमिटी सदस्य तुलसी राजवंशीलगायतले संसद विघटनको विरोध गर्दै संसद पुनस्र्थापनाको माग गरेका थिए ।