गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीस्थित प्राथमिक स्वास्थ्य केन्द्र अब अस्पतालका रूपमा सञ्चालन हुने भएको छ । आर्थिक वर्ष २०७९-८० को साउन १ गतेदेखि प्राथमिक स्वास्थ्य केन्द्र १५ श्ययाको गौरीगञ्ज अस्पतालका रूपमा स्वीकृति पाउने भएको गाउँपालिकाले जनाएको छ । उक्त स्वास्थ्य केन्द्रमा डा. विनोद साहसहित तीन चिकित्सक कार्यरत छन् । स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा विस्तार गर्न आवश्यक सबै प्रक्रिया पूरा गरेपछि साउन १ गतेदेखि विधिवत् अस्पतालमा बिस्तार हुने गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले बताइन् ।

भारतीय सीमावर्ती क्षेत्र नजिकै रहेको गौरीगञ्ज आसपास अस्पताल छैनन् । त्यहाँका बिरामी सोही प्राथमिक स्वास्थ्य केन्द्रमा निर्भर रहनुपर्ने बाध्यता छ । स्वास्थ्य सेवा लिन दैनिक १५० भन्दा बढी बिरामी आउने गरेका छन् । स्थानीयवासी प्राथमिक स्वास्थ्य केन्द्रलाई बिस्तार गरी अस्पताल बनाउने भएपछि आफ्नै ठाउँमा विशेषज्ञ स्वास्थ्य सुविधा पाउनेमा आशावादी छन् ।

अस्पतालको सेवामा सहयोग पुर्याउन स्वास्थ्य विभागले हालै पाँच लाख बराबरको स्वास्थ्य सामग्री निःशुल्क प्रदान गरेको छ ।