• बैशाख ५, २०७८
  • Madan Rajbanshi
  • 0

बैशाख ५ गौरीगञ्ज । शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि गौरीगञ्ज गाउँपालिका का ३ सहित झापाका ९५ सामुदायिक विद्यालय छनौट गरेको छ । देशभरका ७ हजार २७८ सामुदायिक विद्यालय छनौटमा परेका छन् ।
गौरीगञ्जका ३ सहित झापाको अर्जुनधाराका ९, कनकाईका १०, गौरादहका १५, दमकका ३, विर्तामोडका ३, भद्रपुरका १, मेचीनगरका ८, शिवसताक्षीका ६, कचनकवलका ४, कमलका ९, झापा गाउँपालिकाका ५, बाह्रदशीका ६, बुद्धशान्तिका ९ र हल्दिवारीका ४ वटा विधालय सो कार्यक्रमका लागि छनोटमा परेका छन् । त्यसमा गौरीगञ्ज का गौरीगञ्ज माध्यमिक विद्यालय, खजुरगाछी माध्यमिक विद्यालय र गौरीगञ्ज गाउँपालिका भित्र हुदै नभएको एक बिद्यालय छनौटमा परेको छ । छनौट तालिकामा गौरीगञ्ज ठेगाना राखि भानु जन माबि छनौटमा परेको उल्लेख छ । जबकि सो नामको कुनै बिद्यालय गेरीगञ्ज गाउँपालिका भित्र छदै छैन । शिक्षा शाखा गौरीगञ्जका प्रमुख शुसिल दाहालका अनुसार गौरीगञ्जका ४ वटै सामुदायिक विद्यालय को फायल पठाइएको मा ३ बटा छनौटमा परेको र एउटाको नाम गलत भएर आएको हो । आदर्श माबि लाई पहिलो प्राथमिकतामा राखेका थियौ । गलत भएर आएको विद्यालयको हकमा आदर्श माबि लाई नै पुन: सिफारिस गर्ने छौ ।
जिल्लामा सबैभन्दा धेरै गौरादहमा १५ वटा र सबैभन्दा कम एउटा विधालय भद्रपुरको छनोटमा परेको छ ।

छनौट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण, खानेपानीसहितको शौचालय, कम्प्युटर ल्याब, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, सिकाई तथा विभिन्न प्राविधिक विषयहरु समेटिएका छन् । गौरीगञ्ज गाउँपालिका को हकमा छनौटमा परेका विद्यालय हरुका लागि कम्प्युटर ल्याब निर्माण शिर्षकमा प्रति बिद्यालय रु ६ लाख ५० हजार बिनियोजन गरिएको छ । जबकी छनौटमा परेको गौरीगञ्ज माबिको ल्याबमा पर्याप्त कम्प्युटर हरु छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यन्वयनका लागि विद्यालय छनौट गरि मापदण्डहरु समेत सार्वजनिक गरेको छ ।

छनौट भएका विद्यालय र कार्यक्रमहरु सबै स्थानीय तह र विद्यालयले कार्यन्वयन गर्नुपर्नेछ । सो कार्यक्रममा छनौट भएका विद्यालय र कार्यक्रमका लागि संघीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा निकास गर्ने शिक्षा विभागले जनाएको छ ।