
झापा , चैत २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिलान्यास गरेका १ सय ६५ वटा रणनीतिक सडकमध्ये पाँचवटा झापामा परेका छन् ।
झापाका पाँचवटै निर्वाचन क्षेत्रमा १० किलोमिटरका दरले सडक निर्माण गरिने छ । यसका लागि १ अर्ब २५ करोड रुपैंया विनियोजन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । हरेक सडकको लागत २५ करोड रुपैयाँ छुट्याइएको छ ।
मन्त्रालयले तयार पारेको सडकको सूची अनुसार प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादह सितापुरी, रंगपुर स्कूलचौन, स्वामीचौक चप्रामारी दामुना हुँदै खजुरगाछी जोड्ने सडक निर्माण हुनेछ ।जुन २१ किलोमिटरको हुने प्रधानमन्त्रीका सल्लाहकार होमबहादुर थापाले बताए । उनका अनुसार अरु निर्वाचन क्षेत्रभन्दा प्रधानमन्त्रीको निर्वाचन क्षेत्रको सडकको लम्बाई बढी हुनेछ । दुई लेनको सडक बनिने उनले जानकारी दिए । यसैगरी झापा क्षेत्र नंम्बर १ का सांसद राम कार्कीले धुलाबारी भावनाचौक हुदै म्यागनेल्टार जाने सडक सिफारिस गरेका छन् ।
झापा २ की सांसद पवित्रा खरेलले बिर्तामोडको मुक्ति चोकबाट शनिश्चरे रोडको कप्तानबारी चोक पुष्पलाल चोक बिहीबारे हाट खरबन्दी बुद्धचोक कालिस्थानबजार बुद्धशान्ति २ हुदै जयपुर बुधबारेसम्म जाने सडक सिफारिस गरेकी छन् ।
झापा ३ का सांसद राजेन्द्र लिङ्देनले कचनकवल १ नं वडा कार्यालयबाट राजगढ बजार सिर्जना चोक हुँदै उत्तर बुधबारे जाने सडक सिफारिस गरेका छन् ।
क्षेत्र नं ४ का सांसद एलपी साँवा लिम्बूले शिवसतासी २ कमलपुरबाट प्रगति चोक १ इन्द्रेणी चोक प्रगति चोक २ सयपत्री चोक हिमाली चोक माङहिम मन्दिर हवल्दार चोक शिवगंज बजार धरहरा चोक प्रहरी चौकी सडक सिफारिस गरेका छन् ।
झापामा छनोटमा परेका हरेक सडकको लम्बाइ १० किलोमिटर छ । ‘सबै जोड्दा झापामा ५० किलोमिटर सडक निर्माणका लागि १ अर्ब २५ करोड रुपैयाँ विनियोजन भएको छ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक इन्जिनियरले बताए ।
प्रधानमन्त्री ओलीले १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गरेका थिए ।
प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारबाट शनिबार एक कार्यक्रमबीच भर्चुअल माध्यमद्वारा १ सय ६५ वटा सडकको एकैपटक शिलान्यास गरेका हुन्े । सबै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटाका दरले सडक शिलान्यास गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले जानकारी दिए ।
शिलान्यासपछि सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १ सय ६५ वटा सडक तोकिएको समयमा नै सम्पन्न हुने विश्वास व्यक्त गरे । सडक तीन वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।
सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । नेपालको सडक सञ्जालको क्षेत्रमा यी सडकहरुको रणनीतिक महत्व छ । कार्यक्रममा मन्त्रीहरु, संघीय सांसदहरुको पनि उपस्थिति थियो ।