गाउँका पञ्चले उजुरी गर्न नदिएपछी बलात्कृत किशोरीले रोजिन् आत्महत्या को बाटो

पढ्न समय: 2 मिनेट

गाउँका पञ्चहरुले प्रहरीमा उजुरी गर्न जान नदिएपछी सप्तरीमा एक बलात्कार पिडित किशोरीले आत्महत्या गरेकी छन् ।
राससका अनुसार बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ।
सोमबार बिहान धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको पीडितकी आमाले बताइन्।
उनका अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरूलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन्।
घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाका अनुसार पञ्चहरूको निर्णयबाट चित्त नबुझेपछि किशोरीले पीडा सहन नसकी आत्महत्या गरेकी हुन्।
मण्डल समुदायका ८-१० जनाको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालय जान रोक लगाउँदै आरोपितहरूबाट ५५ हजार रूपैयाँ क्षतिपूर्ति भराउने निर्णय गरेको छिमेकीहरूले बताएका छन्।
घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली, इलाका प्रहरी कार्यालय कल्याणपुरको टोली, इलाका प्रहरी कार्यालय पातो र प्रहरी चौकी प्रवाहाको टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ।
घटनास्थलमा पीडितले जोगिनका लागि धानबाली र आली समातेर गरेको सङ्घर्षका चिह्नहरू, मडारिएको धानका बाला, फुटेका हातका चुराहरु र अन्य प्रमाणहरु पाइएको प्रहरीले जनाएको छ ।

किशोरीको मृत्युपछि सामूहिक बलात्कारका चार आरोपित गाउँबाट फरार भएका छन्।

- Advertisement -
Ad image

घटनास्थल पुगेको प्रहरी टोलीले पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षतिपूर्ति भराउने निर्णय सुनाउने पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई भने पक्राउ गरेको छ ।
पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्