गणपुरक सँख्या नपुगेपछि भद्रपुरको नगरसभा शुक्रबार स्थगित

पढ्न समय: 1 मिनेट

नगर सदस्य हरुको गणपुरक संख्या नपुगेपछि झापाको भद्रपुर नगरपालिकाकोे १२ औं बजेट नगरसभा स्थगित भएको छ।

पालिकाले शुक्रबार नगर सभा आव्हान गरेको थियो । नगर सभामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि अनुपस्थित रहे। जसकारण कार्यपालिकाको बहुमतले पारित गरेको नीति तथा कार्यक्रम गणपूरक संख्या अभावमा स्थगित भएको हो ।

५४ नगर सभाषद रहेको भद्रपुर नगरपालिकाले बोलाएको नगरसभामा गणपूरक संख्या पुग्न कम्तिमा २८ जना उपस्थित हुनुपर्ने कानुनी प्रावधान छ । तर, सभामा २२ जना मात्र नगर सभा सदस्य उपस्थित भएपछि शुक्रबारको नगरसभा स्थगित गरेर शनिबार (आज)लाई बोलाईएको भद्रपुर नगरपालिकाको सूचना शाखाले जनाएको छ।

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम र प्रस्तावहरू छलफल गरी स्वीकृत गर्नका लागि अधिवेशन आव्हान गरिएको थियो । १२ औं अधिवेशनको यो बैठकमा नेकपा.एमालेका सबै र राप्रपाका दुई जना बोर्ड सदस्य अनुपस्थित रहेका थिए।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्