विराटनगर, १४ साउन । कार्याकर्ता तथा आफन्तलाई खोप लगाउन विराटनगर ५ स्थित बुथ सभापतिको घरमा भेरोसेल खोप लगाउन मध्यरातति सुटुक्क पुगेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई स्थानीयले लखेटेका छन् । विराटनगर ५ मा आफ्ना समर्थक र आसेपासेलाई सुटुक्क भेला पारेर खोप लगाउन थालेको थाहा पाएका स्थानीयले होहल्ला गर्न थालेपछि पराजुली लुसुक्क निस्किएर भागेका थिए । गएराति करिब ९ बजे विराटनगर महानगर ५ का नेपाली कांग्रेस बुथ सभपाति विमलराज भण्डारीको घरमा खोप लगाउन आसेपासे र मेयर निकट रहेका कांग्रेसका कार्यकर्ताहरु भेला भएका थिए । खोप लगाउन सो टोल भन्दा बाहिरका धेरै जना आएको र ठुलो भीड भएपछि स्थानीयले थाहा पाएका थिए ।

घरछेउमै सुटुक्क खोप बोकेर आएका मेयरले आसेपासे र नजिककाहरुलाई लगाउन थालेको थाहा पाएपछि आक्रोशित स्थानीयले मेयर पराजुलीसँग आएका एकजनालाई नियन्त्रणमै लिएका थिए । तर मेयर पराजुलीलाई भने लखेटेका छन् ।
स्थानीयले फेसबुक लाइभ गर्दै विरोधकमा होहल्ला गर्न थालेपछि मेयर पराजुली, कांग्रेस नगर उपसभापति प्रविण जोशीको गाडी चढेर भागेका स्थानीय प्रज्वलमान सिंह कार्कीले बताए । खोप बोकेर जानेहरुमा काङ्ग्रेस नगरका कार्यबाहक सभापति अरुण न्यौपाने पनि थिए । सो घरमा करिब २० जना जतिलाई खोप लगाइसकेको थिए । त्यसपछि स्थानीयहरु गेट खोलेर भित्रै पसेपछि सबैको भागाभाग भएको हो । स्थानीयले भेला भएर विरोध सुरु गर्दासम्म करिब २० जना जतिले खोप लगाइ सकेको हुन सक्ने स्थानीय प्रविण निरौलाले बताए ।

मेयर पराजुलीको उक्त हर्कतपछि हाल भने स्थानीयले विरोध गरिरहेका छन् । स्थानीय काङ्रेस कार्यकर्ता दिपक चापागाईंले मेयरको काम लज्जास्पद रहेको प्रतिक्रिया दिएका छन । सरकारले तोकिएका फ्रन्टलाइनर र ५५ वर्ष भन्दा माथिको उमेर समुहलाई खोप लगाइरहेको छ । खोप केन्द्रमा खोप लगाउन ६ घण्टासम्म लाइन बस्नुपर्ने अवस्था छ । मेयर पराजुलीले भने आफु घटनास्थलमा नगएको र कसैलाई खोप नदिएको दाबी गरेका छन । काङ्ग्रेसको चुनाब नजिक आएकोले आफ्नो बद्नाम गर्न गलत प्रचार गरिएको उनको दाबी छ । खोप सबै वडामा गएकोले लुकेर राति लगाउनुपर्ने अवस्था नरहेको भन्दै उनले आफ्नै वडाको पार्टी सदस्यता बिबाद मिलाउने बैठकमा रहेको बेला यस्तो आरोप आएको बताए ।