खजुरगाछी सानाकिसान सहकारीको लाखौ रकम अपचलन : घटना ढाकछोप गर्दै समिती
पुस २९ गौरीगञ्ज । देशभरका सहकारी हरुको रकम हिनामिनाको खबरहरु आइरहँदा झापाको गौरीगञ्ज पनि यो घटना देखि अछुतो रहन सकेको छैन । झापाको गौरीगञ्ज वडा नँ ६ मा अबस्थित खजुरगाछी साना किसान सहकारी सँस्थामा कर्मचारी र समितीकै पदाधिकारीहरुको मिलेमतोमा निक्षेप कर्ताको करोडौ रकम अपचलन भएको कुरा सार्वजनिक भएको छ । सँस्थामा दुइ जना कर्मचारीले फर्जि ऋणी खडा गरि झण्डै पौने २ करोड रुपैया गैर कानुनी रुपमा अपचल गरेको पाइएको छ भने समितीका पदाधिकारीहरुले सहकारी ऐन बिपरित ऋण लिएको खुलसा भएको छ । तर अचम्म के छ भने ति कर्मचारीहरुलाइ समितीले कारबाहि गर्नुको साटो पुस २० गतेको साधारण सभाले ति कर्मचारीहरुलाइ नै पुन सँस्थाको चाबि जिम्मा लगाएर घटना ढाकछोप गर्ने तर्फ लागेको छ ।
गत पुस २० गते भएको सँस्थाको साधारण सभामा बितरित लेखा परीक्षकको प्रतिबेदनमा दुइजना कर्मचारीले जानि बुझी सहकारीको रकम अपचलन गरेकोले आर्थिक बर्ष २०८०/०८१ मा सो सँस्था घाटामा गएको कुरा स्पष्ट उल्लेख गरिएको छ भने सँस्थाको सञ्चालक समितीका १२ जना पदाधिकारी मध्ये सहकारी नियमावली बिपरित एक पटकमा ४९ प्रतिशत भन्दा बढि पदाधिकारीले अर्थात १२ मध्ये ७ जना सञ्चालक सदस्यहरुले ऋण लिएको खुलाइएको छ ।

लेखा परिक्षण राजेन्द्र प्रसाद सुवेदी द्वारा तयार पारिएको लेखा परीक्षण प्रतिवेदनमा खजुरगाछी सानाकिसान सहकारीका सहायक कर्मचारी तारा खतिवडाले सँस्थाका १० जना सदस्यहरुको नाममा १८ वटा काल्पनिक रुपमा कम्प्युटर प्रणालीमा ६७ लाख ५६ हजार २ सय ६७ रुपैया ऋण लगानी गरि संस्थाको रकम जानी बुझी स्वयमले दुरूपयोग गरेको पाइयो लेखिएको छ भने संस्थाका ब्यबस्थापक ओम प्रकाश ताजपुरियाले पनि सस्थाका १० जना सदस्यहरूको नाममा १८ वटा काल्पनिक रूपमा कम्प्युटर प्रणालीमा रु ८९ लाख.८५ हजार ५७४ रुपैया ऋण लगानी गरि सस्थाको रकम जानी बुझी दुरूपयोग गरेको पाइयो भनि लेखिएको छ ।

पछी रकम अपचलन भएको थाहा पाएपछी ति कर्मचारीहरुलाइ सन्चालक समितिले रकम दुरूपयोग सम्बन्धमा मिति २०८१ असोज १३ मा स्पष्टिकरण सोधनी भएको र सो स्पष्टिकरण सम्बन्धमा दुबैले दुरूपयोग गरेको स्विकार गरेको र सहायक कर्मचारी तारा खतिवडाले उक्त रकम मध्य आँशिक रकम नगदमा र बाकी रकम निज तथा निजको सासुको नममा दर्ता कायम रहेको जग्गा तथा सो जग्गामा बनेको घर समेत सम्बन्धित मालपोत कार्यालयमा रोक्का राखि रु ५४ लाख कर्जा खजुरगाछी साना किसान सहकारी बाटै लगानी गरि सो स्पष्टिकरण भन्दा अगावै संस्थामा दुरूपयोग रकम मिलान गरेको र सँस्थाका ब्यवस्थापक ओम प्रकाश ताजपुरियाले पनि सो रकम मिलान गरिसकेको छ तर ति कर्मचारीहरुले अपचलन गरेको सो रकमको ब्याज हाल सम्म बुझाएको छैन भने सोहि कारणले गत आर्थिक बर्षमा सँस्थाला रु ४ लाख ३६ हजार रुपैया घाटामा गएको देखिन्छ ।

प्रतिवेदनमा उल्लेख भए अनुसार संस्था चालु आवमा रु ४ लाख,३६ हजार ,७१४ नोक्सानीमा रहेको देखिन्छ, आ ब २०७९/२०८० को तुलनामा आव २०८०/ ०८१ मा मुल्तवी ब्याज १५ गुणा वा रू २३ लाख ८० हजार वृद्धि भएको छ जसबाट संस्थाको कार्य कुसलता कमजोर रहेको देखिन्छ त्यसैगरि उल्लेखित कर्मचारीहरूबाट संस्थाको रकम बदनियत पुर्वक अपचलन गरेको हुनाले सो अपचलित रकमबाट गएको आब मा ब्याज प्राप्त हुन सकेन त्यसको परिणाम वर्षान्तमा घाटा ब्योहोर्नु परेको देखिन्छ।
सँस्थाका दुइ जना कर्मचारीहरुले बदमासी गरेकै कारण सँस्था घाटामा गएको जान्दा जान्दै पनि गत पुस २० गतेको साधारण सभामा ति कर्मचारीहरुलाइ बर्खास्त गर्नको साटो राजिनामा दिएर बिदामा बसेको ब्यवस्थापक ओम प्रकाश ताजपुरियाको राजिनामा स्विकृत नगरेको र सहायक कर्मचारी तारा खतिवडालाइ पनि बर्खास्त नगरि उनिहरुलाइ नै समितीले सँस्थाको ताला चाबि जिम्मा लगाएको कुरा एक सदस्यले बताए ।
सँस्थाकी एक सदस्यले समितीले सो साधारण सभा सदस्य हरुलाइ गुमराहमा राखि सम्पन्न गरेको आरोप लगाएकी छन् । साधारण सभा हुनु भन्दा केहि दिन अघि नै अध्यक्षको प्रतिबेदन र लेखा परीक्षकको प्रतिबेदन सदस्यहरुलाइ बितरण गर्नु पर्नेमा पुस २० गते सभामा प्रतिबेदन प्रस्तुत हुने बेलामा मात्र बितरण गरेको बताएकी छन् । सँस्थाका आधिकाँश सदस्य सोझा र निमुखा महिलाहरु छन् । उनिहरुलाइ ३ सय रुपैया भत्ताको लोभ देखाएर उपस्थिती माइन्युटमा हस्ताक्षर गराउदै पठाउदै गरेको र सभामा सदस्य सँख्या कम भएको बेला बिरोधको बावजुद पनि समितीले पेलेरै सभा सम्पन्न गरेको कुरा एक सदस्यले गौरीगञ्ज दर्पण डटकमलाइ बताएकी छन् ।

समितीले किन जोगाउन खोज्दैछ कर्मचारी ?

सँस्थाको लेखा परीक्षक परिवर्तन भएपछी कर्मचारीको बदमासी सतहमा आएपनि ति कर्मचारीहरुले निकै अघि देखि नक्कली ऋणी खडा गरि रकम अपचलन गर्दै आएको कुरा एक सदसयले बताएका छन् । खजुरगाछी साना किसान सहकारीका पदाधिकारी र कर्मचारी दुबैको मिलेमतोमा रकम अपचलन हुने आशँका सदस्यहरुको छ । किनकी समितीका पदाधकारीहरुले पनि सहकारी ऐन र नियमावली बिपरित ऋण खादै आएको कुरा लेखा परिक्षण प्रतिबेदनमै उल्लेख गरिएको छ । समितीका पदाधिकारीहरु आफै नियम भित्र नबस्ने र कर्मचारीहरुलाइ कार्वाही गर्दा समितिका पदाधिकारीहरुकै थप पोल पट्टा खुल्ने डरले उनिहरुले आरोपित कर्मचारीहरुलाइ बर्खास्त नगरेको सदस्यहरुले आरोप लगाएका छन् ।

सञ्चालक समितीका क कस्ले खाएका छन् कति ऋण ?

सँस्थाको सँचालक समितीका ९ र लेखा समितीका ३ गरि १२ सदस्य मध्ये नियम बिपरित एकै पटकमा ७ जना सदस्यले ऋण खाएको कुरा लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । जवकी सहकारी ऐन तथा नियमावली अनुसार समितीका कुल पदाधिकारी मध्ये एक पटकमा समितीका ४९ प्रतिशत अर्थात आधा भन्दा कम सदस्यले मात्र ऋण लिन पाउने प्रावधान छ । तर गत आर्थिक बर्षको अन्त्य सम्म एकै पटक समितीका आधा भन्दा धेरै अर्थात १२ मध्ये ७ जना सदस्यले सो सहकारी बाट ऋण लिएको देखिन्छ । लेखा परिक्षकको प्रतिवेदन अनुसार गएको आर्थिक बर्षमा एकै पटक सञ्चालक समितीका अध्यक्ष डिक कुमारी अधिकारी सञ्चालक सदस्यहरु पशुपती थापा गीता कटुवाल लिला कुमारी गन्गाइ लेखा समिती सँयोजक नौताली राजवँशी र लेखा समिती सदस्य कल्पना ओली तथा ऋण उप समिती सँयोजक नुना चम्लाइगाइले जम्मा रु ७९ लाख ६९ हजार ५ सय ४७ रुपैया ऋण लिएको देखिन्छ ।
समितीका यि सदस्यहरुले नियमबिपरित एकै जनाले पनि एकै पटकमा १ भन्दा बढि शिषकमा ऋण लिएको देखिन्छ । जसमध्ये कल्पना ओलीले एकै पटकमा ४ वटा शिर्षकमा नुना चम्लागाइले ३ वटा शिर्षकमा डिक कुमारि अधिकारीले २ वटा शिर्षकमा पशुपति थापाले २ वटा शिर्षकमा नौताली राजवँशीले २ वटा शिर्षकमा र गीता कटुवालले पनि २ वटा शिर्षकमा ऋण लिएको पाइएको छ ।
यति मात्र होइन सञ्चालक समिती लेखा समिती र कर्जा उप समिती सदस्यहरुले सँस्थाबाट लिएको कर्जाको बिबरण चौमासिक रुपमा सँबन्धित नियामक कार्यालयमा पेश नै नगरेको र कर्जा लगानीका फायलहरुको बैकल्पिक सुरक्षाको ब्यवस्था नदेखिएको कर्जा लगानीको सदुपयोगिताको आवधिक रुपमा निरिक्षण नभएको र कतिपय धितोको मुल्याँकन भन्दा बढि ऋण लगानी भएको समेत अनियमितताहरु फेला परेको छ ।

बाह्य कर्जाको भार थेग्न नसक्दा सँस्थाका सुचकहरु असन्तुलित तर झन बाह्य कर्जा थप्ने निर्णय

लेखा परीक्षकको प्रतिवेदनमा संस्थाको २०८१ असार मसान्तको वित्तयि तत्थ्याकंको आधारमा गरिएका PEARLS बिष्लेषण अनुसार बाह्य कर्जा बढीमा ५% हुनुपर्नेमा ६१% रहेको देखिन्छ जसको कारणले संस्थाको सम्पुर्ण सुचकहरूको सन्तुलन असन्तुलीत रहेको उल्लेख गरिएको छ । सामान्यतया सहकारी संस्थाले आफ्‌ना सदस्यहरूबाट जम्मा भएको शेयर तथा बचतको रकमलाई सदस्यहरूमा नै परिचालन गरी त्यसबाट आर्जन भएको प्रतिफल बिभिन्न माध्यमबाट सदस्यहरूमा वितरण गरिनु पर्नेमा वित्तीय सन्तुलन गुमाउँदै अत्याधिक बाह्य ऋण लिंदै असुरक्षित प्रकियाबाट कर्जा लगानी गरेको देखिन्छ।

त्यसैगरि कर्जा लगानी ९०% पुगेको देखिन्छ जसका कारणले तरलता कमजोर अवस्थामा पुगेको र बाह्य कर्जाको नियमित किस्ता भुक्तानी गर्न पुन कर्जा लिइ कर्जाको किस्ता तथा ब्याज रकम ब्यबस्थापन गर्नु पर्ने परिस्थिती सृजित भएको देखिन्छ । मापदण्ड भन्दा अधिक हुने गरि बाह्य कर्जा लिने निर्णय गर्ने सन्चालक समिति जिम्मेवार बन्नुपर्ने देखिन्छ तर बाह्य कर्जाका कारण सँस्थाका सुचकहरुले सन्तुलन गुमाउदै जाँदा बाह्य कर्जा कम गर्नुको साटो गत पुस २० गतेको साधारण सभाले बिभिन्न शिर्षकमा थप ७ करोड रुपैया कर्जा लिने निर्णय गरेको देखिन्छ ।

अनियमितता गर्ने २ जना कर्मचारी : बदनाम हुने सबै

लेखा परीक्षण प्रतिबेदनले दुइजना कर्मचारीहरु ओम प्रकाश ताजपुरिया र तारा खतिवडाले रकम अपचलन गरेको किटान गर्दा समेत सञ्चालक समितीले सँस्थामा आबद्ध पाच जनै केमचारीहरुलाइ बदनाम गर्ने काम गरेको छ । पुस २० गतेको साधारणसभामा अध्यक्षले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदनको अन्तिम हरफमा ति अनियमितता गर्ने कर्मचारीको नाम नतोकी सँस्थामा कार्यरत कर्मचारीहरुले सहकारी ऐन र नियमावली तथा सँस्थाको बिनियम र कार्यबिधि बिपरित कार्य गरेको पाइएको भनेर सबै कर्मचारीहरुलाइ मुछेको पाइएको छ । यति मात्र होइन समितीले साधारणसभामा लेखा परीक्षकको प्रतिवेदन समिती नियम बिपरित ढिलो गरि र आधा अधुरो प्रतिबेदन बितरण गरेको पाइएको छ ।

लेखा परिक्षक राजेन्द्र प्रसाद सुवेदीले तयार पारेको प्रतिबेदन ५० पेज भन्दा माथि छ तर सँस्थाले अध्यक्षको प्रतिबेदन सँग १६ पेजको मात्र लेखा परक्षण प्रतिवेदन बितरण गरेको पाइएको छ । बितरित प्रतिवेदनमा बासलत र बाह्य कर्जाको पइचार्ट, खर्च प्रवृती र बाह्य र आन्तरिक श्रोतको पाइ चार्ट लगायत कोष वाडफाँड , स्थिर सम्पतीको बिबरण पेस्की सापटी तथा पाउनु पर्ने बिबरण जगेडा कोष लगायतका कुराहरु लुकाइएको पाइएकोछ ।


पालिकामा बेनामे उजुरि तर हालसम्म भएन उजुरि दर्ता


सदस्यहरुलाइ दवाबमा पारि समितीले एक लौटी रुपमा साधारण सभा सम्पन्न गरेको र खराब कर्मचारीहरुलाइ बर्खास्त नगरी उनिहरुलाइ समितीले जोगाएको आरोप लगाउँदै गौरीगञ्ज गाउँपालिमामा हुलाक मार्फत बेनामे उजुरी गएको छ । पुस २५ गते नै सो उजुरी गाउँपालिका पुगेपनि सो उजुरि यो समाचार तयार पार्दा सम्म दर्ता नभएको कुरा गाउँपालिकाको सहकारी फाट हेर्ने शाखा अधिकृत नारायण चँदराले स्विकारेका छन् । उनले आजै सो उजुरी दर्ता गरि कार्यपालिकामा पेश गर्ने बताएका छन् ।


के भन्छिन सँस्थाकी अध्यक्ष ?
पुस २० गते सँस्थाले साधारण सभा सम्पन्न गरेपछी सो सहकारीमा अनियमितता भएको तथा समितीका पदाधिकारीहरुले अनियमितता ढाकछोप गर्न खराब कर्मचारीहरुलाइ जोगाएको तथा सदस्यहरुलाइ दवाबमा पारेर साधारणसभा सम्पन्न गरेको भन्दै गौरीगञ्ज दर्पण डटकममा समेत अनेकौ गुनासाहरु आएपछी यस बिषयमा गौरीगञ्ज दर्पण डटकमले समेत खोजि शुरु गरेको थियो । शेयर सदस्यहरुका यि गुनासाहरुको बारेमा अध्यक्ष डिक कुमारी अधिकारी सँग जिज्ञासा राख्दा उनले साधारणसभाबाट आफुले ति कर्मचारीहरुलाइ हटाउने पक्षमै रहेकोमा समितीका अन्य सदस्यहरुले दबाब दिएका कारण आफुले ति कर्मचारीहरुलाइ हटाउन नसकेको बताएकी छन् । उनले यि कर्मचारीहरुलाइ हटाएर नयाँ कर्मचारी ल्याउँदा लगानी भएको ऋणहरु वसुल गर्न गाह्रो हुने भएकाले समितीका अन्य सदस्यहरुले कर्मचारीहरुलाइ ननिकाल्न दवाब दिएको बताएकी छन् । तर समितीका कुन कुन सदस्यले तपाइलाइ दवाव दियो भन्ने प्रश्नमा उनले नाम खुलाउन चाहेनन् । त्यसो भए भोलिका दिन मा यि दुइ कर्मचारीहरु भबितब्यमा परे वा राम्रो अबस पाएर बिदेश वा अन्य सँस्था तिर गए के यो सँस्था डुबिहाल्छ ? अर्को कर्मचारीले वसुल्नै सक्दैनन् त ? ति कर्मचारीले भोली जागिर छोडे के यो सँस्था बन्द गर्नुहुन्छ त ? भन्ने प्रश्नमा उनले आलटाले जवाफ दिएकी छन् । उनले आफु लगायत समितिका पदाधिकारी हरुले नियम बिपरित ऋण लिएको स्विकारेकी छन् ।