प्रदेश सँरचना खारेजीको माग उठेरहेको बेला कोशी प्रदेशमा झन झनै बेथिती मौलाउदै गएको छ । पछिल्लो १ बर्षमा ५ पटक मुख्यमन्त्री हेरफेर गरेको कोशी प्रदेशमा अहिले सभामुखको पद खाली छ । गत साउन १६ गतेदेखि कोशी प्रदेशको सभामुख पद खाली रहेको बेला कांग्रेसका प्रदेश सांसद इस्राइल मन्सुरीले आफुले आफैलाइ सभामुख घोषणा गरेका छन् । आफुले आफैलाइ प्रदेशको सभामुखको रुपमा उल्लेख गरेको लेटरप्याडमा उनले प्रदेश सरकारले भर्खरै पारित गरेको बजेटमा आफ्नो क्षेत्रमा पारेका योजनाहरुको विस्तृत विवरणहरु पत्रमार्फत सार्वजनिक गरेका छन् । उक्त पत्र लेखिएको लेटरप्याडमा ‘माननीय इस्राइल मन्सुरी, सभामुख कोशी प्रदेशसभा, नेपाल’ उल्लेख छ ।


मुख्यमन्त्रीको प्रतिस्पर्धामा बहुमत पुर्याउने होड चलेको बेला गत साउन १६ गते सभामुख बाबुराम गौतमले पदबाट राजिनामा दिएपछी पछिल्लो पटक सभामुख चयन नभए सम्मका लागि प्रदेश सभा सञ्चालन गर्न ४ जनाको अध्यक्ष मण्डल गठन गरिएको थियो ।
अध्यक्ष मण्डलमा मन्सुरीसँगै, एमालेका रोहितबहादुर कार्की, माओवादीका गीता तिम्सिना र राप्रपाका अम्बरबहादुर विष्ट थिए । तर, इस्राइल सभामुख भएका भने होइनन् । सभाध्यक्षको भूमिका निर्वाह गरेकै आधारमा उनले लेटरप्याटमा सभामुख लेख्न पाउँदैनन् । उपसभामुख सिर्जना दनुवारले आफ्नो लेटरप्याडमा उपसभामुख नै लेख्दै आएकी छन् ।२०७९ पुस २८ गते सभामुखमा निर्विरोध निर्वाचित भएका बाबुराम गौतमले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीका लागि बहुमत पुर्याउन राजीनामा दिएका थिए । गौतमले राजीनामा दिएको ४ महिनापछि प्रदेशसभामा सभामुख चयनको विषयमा औपचारिक छलफल मात्रै सुरु हुँदैछ ।
प्रदेश सभाको बैठकमा भने सांसदहरुले सभामुख चयनको प्रक्रिया अगाडि बढाउन माग गर्दै आएका छन् ।
संविधानको धारा १८२ मा प्रदेशसभाको सभामुख र उप–सभामुखको चयन प्रक्रिया उल्लेख छ । उक्त धाराको उपधारा (३) मा सभामुख वा उप–सभामुखको पद रिक्त भएमा प्रदेशसभाका सदस्यहरूले आफूमध्येबाट निर्वाचन गरी पदपूर्ति गर्नुपर्ने व्यवस्था छ । प्रदेशसभामा सभामुख पद रिक्त रहँदा एमालेबाट उप–सभामुख निर्वाचित सिर्जना दनुवारले सभामुखको भूमिका निर्वाह गरिरहेकी छन् ।